विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत मोरङको क्षेत्र नम्बर ४ र ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन् ।
मोरङ–४ मा रास्वपाका उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन् । त्यस्तै ६ मा रुविना आचार्य निर्वाचित भएकी हुन् ।
क्षेत्र–४ मा रास्वपाका राजवंशीले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महामन्त्री समेत रहेका गुरुराज घिमिरेलाई २८ हजार १५ मतको मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरेका छन् । गुरुराजले १२ हजार ८१८ मत प्राप्त गरेका हुन् ।
अघिल्लो दुई निर्वाचनमा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका नेकपाका अमनलाल मोदी यसपटक तेस्रो भए । उनले १० हजार ७६२ मत प्राप्त गरे ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले ६ हजार ९३३ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजवंशीले पत्रकारिता र राजनीति शास्त्रमा स्नातक गरेका छन् ।
राजवंशीले यसअघि नेपाल टेलिभिजन इटहरी च्यानलको रिपोर्टरका रुपमा काम समेत गरेका थिए ।
यस्तै, क्षेत्र नम्बर ६ मा रास्वपाकी रुविना आचार्य ५५ हजार ५१३ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छ ।
यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइराला ४२ हजार ६६३ मतको मतान्तरले पराजित भएका छन् । कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका हुन् ।
एमालेका नेता विनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका मातृका पौडेलले ३ हजार ४००, राप्रपाका सविन निरौलाले २ हजार ९२ र नेकपाका ओपेन्द्र कुमार रायले १ हजार ७१६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
View : 52
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved