Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

नेकपा कोशीबाट को कहाँबाट बने उम्मेदवार ?

उद्‌घोष संवाददाता
४ माघ २०८२, आइतवार

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट र टिकट वितरणको प्रक्रिया तीव्र बनाएको छ । 

पार्टी एकताको औपचारिक घोषणापछि संगठन सुदृढीकरण र निर्वाचन केन्द्रित रणनीतिमा लागेको नेकपाले कोशी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुंग्याइसकेको छ । 

संयोजक पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एकीकृत भएको पार्टीले पुराना कम्युनिष्ट धारका नेता कार्यकर्तासँगै नयाँ पुस्तालाई समेत अघि सार्ने नीति लिएको देखिन्छ । 

कोशी प्रदेश अन्तर्गत भोजपुर जिल्लाबाट नेपाली कम्युनिष्ट पार्टीले नेता अजम्बर काङमाङ राईलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । 

भोजपुरमा यसअघि तत्कालीन माओवादी केन्द्रका तर्फबाट सुदन किराती निर्वाचित भएका थिए । हाल उनी प्रगतिशील लोकतान्त्रिक पार्टीको संयोजकका रूपमा सक्रिय छन्  । 

उता नेकपा एमालेले भोजपुरबाट पार्टी सचिव शेरधन राईको एकल नाम सिफारिस गरिसकेको छ । 

नेपाली कांग्रेसले भने अहिलेसम्म उम्मेदवार टुंग्याउन सकेको छैन । श्रम संस्कृति पार्टीबाट ध्रुव राई उम्मेदवार बन्दैछन् । 

झापा क्षेत्र नम्बर १ बाट नेकपाले इञ्जिनियर अशेष घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

संयोजक पुष्पकमल दाहाल, प्रचण्ड सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले संयुक्त रूपमा घिमिरेलाई टिकट प्रदान गरेका हुन् । 

झापा धुलाबारीका ४२ वर्षीय घिमिरे यसअघि नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य थिए । पार्र्टी एकतापछि उनी नेकपाको केन्द्रीय कमिटी सदस्य बनेका हुन् । 

इञ्जिनियरिङ पृष्ठभूमिका घिमिरे पछिल्लो पुस्ताका माक्र्सवादी अध्येताका रूपमा चिनिन्छन् । झापा १ बाट २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा निर्वाचित भएका थिए । 

शर्माले यसपटक निर्वाचन नलड्ने घोषणा गरिसकेपछि यो क्षेत्र नयाँ उम्मेदवारहरुको  प्रतिस्पर्धाको केन्द्र बन्ने देखिएको छ । 

झापा क्षेत्र नम्बर ५ बाट नेपाली कम्युनिष्ट पार्टीले रञ्जित तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तामाङ नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् । 

झापा ५ पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो । यसपटक पनि एमालेबाट ओली नै उम्मेदवार हुने निश्चित देखिएको छ । 

यही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह उम्मेदवार बन्ने निश्चित भएको छ । यसले झापा ५ लाई बहुपक्षीय र चासोपूर्ण प्रतिस्पर्धाको केन्द्र बनाएको छ । 

त्यस्तै सुनसरी क्षेत्र नम्बर १ बाट नेकपाले  धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

उनी धरानका मेयर हर्क साम्पाङका कतिपय निर्णयविरुद्ध वैचारिक र नीतिगत असहमति जनाउँदै आएका थिए । 

सुनसरी १ बाट श्रम संस्कृति पार्टीका तर्फबाट हर्क साम्पाङ स्वयं उम्मेदवार बन्ने तयारीमा छन् । स्वतन्त्र रूपमा धरानको मेयर जितेका साम्पाङको राजनीतिक उदयपछि यो क्षेत्र थप रोचक बनेको छ । 

मोरङ जिल्लामा पनि नेकपाले अधिकांश क्षेत्रमा उम्मेदवार टुंग्याइसकेको छ । मोरङ १ बाट कुलप्रसाद साम्बा, २ बाट चन्द्रवीर राई, ३ बाट देउमान सम्बाहाम्फे, ४ बाट अमनलाल मोदी र ५ बाट शिवकुमार मण्डल उम्मेदवार बन्ने निश्चित भएको पार्टी नेताहरूले बताएका छन् । मोरङ ६ बाट भने अझै अन्तिम निर्णय हुन बाँकी रहेको जनाइएको छ । 

त्यस्तै पहाडी जिल्लातर्फ ताप्लेजुङबाट खेलप्रसाद बुढाथोकी र पाँचथरबाट हर्क नेम्बाङ मिक्सो नेकपाबाट उम्मेदवार बन्ने तयारीमा छन् । 

आइतबारसम्ममा कोशीका सबै निर्वाचन क्षेत्रबाट उम्मेदवार टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

View : 200

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved