विराटनगर । विराटनगर प्राइम राउण्ड टेबल नम्बर १० ले विराटनगर–८ स्थित महेन्द्र माध्यमिक विद्यालयमा निर्माण गरेको कक्षा कोठाहरू विद्यालयलाई हस्तान्तरण गरेको छ ।
राउण्ड टेबल नम्बर १० ले स्वर्गीय सुनील टिवडेवालको स्मृतिमा चार वटा कक्षा कोठा भएको ब्लक निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो ।
विराटनगर महानगरपालिका मेयर नागेश कोइराला र टिवडेवालाकी आमा किरण टिवडेवालले संयुक्त रूपमा उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरेका हुन् । कक्षा कोठा निर्माणका लागि ४५ लाख रूपैयाँ खर्च भएको जनाइएको छ ।
महेन्द्रमा अंग्रेजी माध्यमका कक्षा ९ र १० का विद्यार्थीका लागि कक्षा कोठाको अभाव रहेकोमा अब त्यो समस्या हटेको जनाइएको छ ।
राउण्ड टेबलका २०२३–२४ का अध्यक्ष निखिल वंशलले विद्यालयलाई ४ कोठे ब्लक निर्माण गरी हस्तान्तरण गर्न पाउँदा खुसीको दिन भएको बताए । टेबलका समन्वयक विवेक राठीले हालसम्म विभिन्न विद्यालयका ४५ बढी कक्षा कोठा निर्माण गरिसकेको जानकारी दिए ।
टेबलका संस्थापक अध्यक्ष अनुपम राठीले राउण्ड टेबल १० देशभरिमै उदाहरणीय टेबल भएको दाबी गरे । उनले स्वर्गीय टिवडेवाललाई लोकप्रिय टेबलरका रुपमा स्मरण गरेको बताए । उनको नाममा कक्षा कोठा ब्लक निर्माण गर्न पाउँदा युगौंयुगसम्म अमर रहने बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टंकप्रसाद गौतम, विराटनगर–८ का वडाध्यक्ष राम पोखरेल र विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झासहित टेबलरहरू अतुल सिंघानिया, अभिषेक केडिया लगायतको उपस्थिति रहेको थियो ।
View : 150
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved