Biratnagar, Morang, Nepal
१७ माघ २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

माघ १८ गते उपस्थित गराउने गरी प्रहरीमै फिर्ता भए उमागौरीका अध्यक्ष रौनियार

उद्‌घोष सम्वाददाता
१५ माघ २०८१, मङ्गलवार

Advertisement

विराटनगर । मोरङ जिल्ला अदालतमा दोस्रो दिन पनि बयान नसकिंदा मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित उमागौरी कृषि सहकारीका अध्यक्ष शम्भु प्रसाद रौनियार पुनः प्रहरीमै फिर्ता पठाइएका छन् ।

मोरङ जिल्ला अदालतका न्यायधीय अरुण कुमार झाको एकल इजलासले बयान नसकिएको भन्दै सहकारी ठगी मुद्दाका प्रमुख आरोपी रौनियारलाई माघ १८ गते हाजिर हुने गरी प्रहरीमा फिर्ता पठाउने आदेश दिएका हुन् ।

‘प्रतिवादीको बयान कार्य जारी रहेकोले निजलाई २०८१÷१०÷१८ गते बयान कार्यका लागि अदालतमा उपस्थित गराउने गरी जिल्ला प्रहरी कार्यालय मोरङमा फिर्ता पठाइदिनु’ भनि आदेश भएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकराी दिए ।

उमागौरी कृषि सहकारीका ऋणीहरूको ऋण तथा बचत रकम समेत अपचलन गरेको आरोपमा प्रहरी अनुसन्धानपछि दायर भएको मुद्दाका मुख्य आरोपी रौनियार सोमबार मोरङ जिल्ला अदालतमा उपस्थित भएका थिए । 

उनको सोमबारदेखि सुरु भएको बयान मंगलबार समेत नसकिएपछि दुई दिनपछि बयान हुने गरी प्रहरीमा फिर्ता पठाइएको हो । बुधबार र बिहीबार सार्वजनिक विदा भएका कारण उनको बयान दुई दिनपछि सारेको जनाइएको छ ।

उक्त सहकारीका अध्यक्ष रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएपछि उनी फरार थिए ।

रकम हिनामिनाका आरोपीहरू अदालतमा उपस्थित हुँदै धमाधम धरौटीमा रिहा भएपछि अध्यक्ष रौनियार पनि अदालतमा हाजिर भएका थिए ।

सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारसहित २६ जना विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले तयार पारेको अभियोग पत्रमा सवैलाई जनही २२ करोड २८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना भएको उल्लेख गरी बिगो कायम गरिएको छ ।

View : 104

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved