Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

दोहोरो शिलान्यासले विवादमा अस्पताल

उद्‌घोष सम्वाददाता
२८ फागुन २०८१, बुधवार

निर्माण हुँदै गरेको अस्पतालको भवन । तस्वीर : उद्घोष

विराटनगर । मानिसको जीवन जोगाउने अस्पताल शिलान्यास नहुँदै बिवादमा परेको छ । मोरङ धनपालथान गाउँपालिकामा शिलान्यास भएर ३० प्रतिशत निर्माण भएको भवन पुनः शिलान्यासको तयारी गरिदा विवाद भएको छ । 

२०७८ सालमा शिलान्यास गरी निर्माण कार्य भइरहेको अस्पताल भवनमा गाउँपालिकाले पुनः शिलान्यास गर्ने तयारी गरेपछि विवाद भएको हो । 

बिवादका कारण निर्माण प्रकृया रोकिएको छ । पालिका पुजाका नाममा भएपनि पुनः शिलान्यास गर्न चाहन्छ भने वडा कार्यालय दोहोरो शिलान्यासको विपक्षमा छ ।

स्थानीयले पनि दुई पटक शिलान्यास र अन्य बहाना झिकेर अस्पताल जस्तो सम्वेदनशील क्षेत्रको काम प्रभावित बनाइएको बताएका छन् । 

धनपालथान–५ बबियाटोलमा १५ सैयाको सुविधासम्पन्न अस्पताल निर्माण कार्य हु्रँदैछ । संघीय सरकारको १३ करोड ५९ लाख रुपैयाँ बढी बजेटमा अस्पतालको निर्माण भइरहेको छ ।

स्थानीय कर्णबहादुर एवं कृष्णबहादुर राजवंशी लगायतको परिवारले दानमा दिएको १५ कट्ठा जग्गामा पालिकाको अगुवाइमा अस्पताल निर्माणको प्रकृया सुचारु छ । पालिकाका तत्कालीन अध्यक्ष हरिलाल सिंह, उपाध्यक्ष नसिमा बानु र वडाध्यक्ष गयानन्द सरदारले २०७८ चैत्र १४ गते यस अस्पतालको शिलान्यास गरेका थिए ।

हालसम्म अस्पतालको ३० प्रतिशत निर्माणकार्य प्रगति भइसकेको निर्माण कम्पनी बस्नेत पी एण्ड जेभीले जनाएको छ । 

साढे दुई तले भवनसहित कम्पाउण्ड वालसमेतको निर्माणमा ३० प्रतिशत प्रगति भएपनि वर्तमान अध्यक्ष जिबछप्रसाद गच्छदारले पुनः शिलान्यास गर्न चाहेका हुन् ।  

बन्दै गरेको भवनको श्रेय अध्यक्ष गच्छदारले लिन चाहेर पुनः शिलान्यास गर्न खोजेकाले बिवाद भएको वडाध्यक्ष सरदारको दाबी छ । 

सरकारले एक–पालिका एक–अस्पतालको नीति ल्याएपछि आफूले आफ्नै वडामा अस्पताल निर्माण गराउन दातासँग जग्गा माग गरेको उनको भनाइ छ । गाउँमै सुविधायुक्त अस्पताल बन्ने भएपछि दाता जमिन दिन तयार भएका थिए । 

त्यसबेला शिलान्यासमा सहभागी जनप्रतिनिधिमध्ये उपाध्यक्ष बानु र वडाध्यक्ष सरदार २०७९ को निर्वाचनबाट निर्वाचित भएर पुनः सोही पदमा आएका छन् । 

दोहोरो शिलान्यासको तयारी गरिएपनि पालिका प्रमुख गच्छदार भने सामान्य पुजापाठको तयारी गरिएको बताउँछन् । पालिकाकै ठुलो परियोजना भएकाले पुजापाठको तयारीमा लागिएको उनको भनाइ छ । 
पुनः शिलान्यासको बिवाद निर्माण ब्यवसायीले पाउने भुक्तानीमा पनि परेको छ । 

पालिकाले निर्माण ब्यवसायीलाई काम सम्पन्न गरेअनुसारको बिलको भुक्तानी दिन समेत आलटाल गरेको बताइएको छ । 

शिलान्यासकै बहानामा निर्माणको भुक्तानी नगरिएको निर्माण ब्यवसायीले जनाएका छन् ।

View : 70

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved