एनपीएलमा विराटनगरको जीतको ह्याट्रिक
विराटनगर । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंसिर १ यता जे घटित भइरहेको छ त्यसको सोझो प्रभाव सुदुरपूर्वको शहर विराटनगरमा देखिइरहेको छ । यसको कारण बनेको छ, यहाँको टिम विराटनगर किंग्सको लगातारको सफलता ।
नेपाल प्रिमियर लिगका खेलहरू अघि बढिरहदा औद्योगिक नगरी विराटनगरमा खुसीको ग्राफ पनि लगातार उकालो लाग्ने क्रममा छ । सोमबार एनपीएलमा साविक विजेता जनकपुर बोल्ट्सविरूद्ध रवाफ देखाउँदै विराटनगरले जीतको ह्याट्रिक गर्दा विराटनगरको खुसी झनै उकालिएको छ ।
‘पहिलो सिजनको बिर्सनलायक प्रदर्शन बिर्साएर विराटनगरले मैदानमा कमाल गरिरहेको छ’, विराटनगरका प्रशंसक अशोक गुप्ताले फेसबुकमा लेखेका छन् ‘अब विराटनगरको जर्सी लगाउने हो ।’
सामाजिक सञ्जालमा यस्तै आसयका अभिव्यक्ति बढ्ने आधार टिमले त्रिवि मैदानमा खडा गरेको थियो ।
टोलीका मार्की खेलाडीसमेत रहेका कप्तान सन्दीप लामिछानेको प्रभावशाली बलिङमा विराटनगर किंग्सले एनपीएलमा लगातार तेस्रो जित हात पारेको छ ।
कम योगफलको रोमाञ्चक प्रतिस्पर्धामा विराटनगरले जनकपुरलाई ९ रनले हराएको छ । जितका साथ विराटनगर ६ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको हो । यद्यपि सोमबार नै भएको अर्को खेलमा कर्णाली याक्सविरुद्ध उत्कृष्ट बलिङ समातेको सुदुरपश्चिम रोयल्सले सहज जीत निकालेका कारण विराटनगर समुह चरणमा भने दोस्रो स्थानमा रहेको छ ।
जितको लागि १ सय ३६ रनको लक्ष्य पछाएको जनकपुर २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २६ रनमा खुम्चन बाध्य भयो ।
सहज लक्ष्य पाए पनि जनकपुरले सुरूवात राम्रो गर्न सकेन । ओपनर आशिफ शेख १३ रनमा सूर्य तामाङको बलमा बोल्ड हुँदा टिमले १९ रन मात्रै बनाएको थियो ।
पहिलो पावर प्लेमा जनकपुर ३५ रनमा नै रोकियो । जुन विराटनगरले पावर प्लेमा बनाएको भन्दा ५ रनले कम हो । त्यसपछि सातौं ओभरको चौथो बलमा कप्तान अनिल साह १४ बल खेलेर ४ रनमा सन्दीप लामिछानेको बलमा जर्ज मुन्सेद्वारा क्याच आउट हुन पुगेका थिए ।
३५ रनमा दोस्रो विकेट गुमाएको जनकपुरले तेस्रो विकेट नवौं ओभरमा गुमायो । ओपनर लाहिरू मिलान्था २२ बल खेल्दै २ चौका र १ छक्कासहित २३ रन जोडेर सन्दीपको बलमा बोल्ड आउट भए । पहिलो क्रमका तीन ब्याटर गुमाउँदा जनकपुरले मात्र ४६ रन बनाएको थियो ।
१० ओभरको समाप्तिमा ६१ रन बनाएको जनकपुरलाई अन्तिम ६० बलमा जितको लागि ७५ रन जोड्नुपर्ने थियो । चौथो विकेटको रूपमा सञ्जय कृष्णमूर्ति आउट भए । १२ बलमा २ चौका र १ छक्कासहित २० रन जोडेका उनलाई सूर्यले पेभिलियनको बाटो देखाइदिएका थिए ।
लगत्तै मयन यादव ४ रनमा आउट भए । ५ विकेटको नोक्सानीमा ७७ रन बनाएको जनकपुरलाई ३७ बलमा जितको लागि ५९ रन जरूरी थियो ।
त्यसबेला खेल प्रतिस्पर्धात्मक बनेको थियो । त्यसपछि १५ औं ओभरमा ११ र १६ औं ओभरमा १४ रन जोड्दै जनकपुरले जितको सम्भावना देखाएको थियो । तर, १८ औं ओभरमा सन्दीपको ओभर निकै महत्वपूर्ण सावित भयो । उनले यो ओभरमा वाइडबाट १ रन दिएर २ विकेट लिए ।
रूपेश सिंहलाई ८ रनमा र संगिथलाई डक आउट गरे । त्यसपछि अन्तिम १२ बलमा जनकपुरलाई २३ रन जरूरी थियो, जहाँ मर्चेन्टले १ रन बनाएका आदित्य महतालाई एलबीडब्लू धरापमा पारे ।
योसँगै ६ बलमा जनकपुरलाई १७ रन जोड्नु थियो । बलिङमा विराटनगरका प्रतिश जीसी आए । दोस्रो बल वाइड थियो । यही बलमा जान निकोल लोफ्टी लोकेश बमद्वारा रन आउट भए ।
उनी ३० बलमा ४१ रन जोडेर आउट भए । तेस्रो बलमा ललीत राजवंशीले चौका हाने । तर, पनि यो ओभरमा ७ रन मात्र सम्भव हुँदा खेल विराटनगरको कब्जामा थियो ।
खेलमा कप्तान सन्दीपले सानदार बलिङ गरे ।
४ ओभरमा ११ रन दिएर ४ विकेट लिएका उनलाई सूर्य तामाङले पनि २ विकेट लिएर बलियो साथ दिए । जनकपुरले टस जितेर बलिङ रोजेको थियो ।
विराटनगरले २० ओभरमा ७ विकेट गुुमाएर १ सय ३५ रन मात्रै बनाउन सकेको थियो । जनकपुरले बलिङमा स्पिनरलाई जिम्मेवारी दियो ।
दुवै एन्डबाट स्पिनर प्रयोग गर्दा जनकपुरले पहिलो पावर प्लेमा विराटनगरलाई मात्र ४० रनमा रोक्यो । यतिखेर विराटनगरले १ विकेट गुमाएको थियो ।
ओपनर जर्ज मुन्से १० बलमा संगीथ कोरेको बलमा बोल्ड आउट भए । पहिलो विकेटको क्षतिमा विराटनगरले मात्र २० रन बनाएको थियो । निरन्तर स्पिनरको अट्याकमा विराटनगरका खेलाडीले खुलेर ब्याटिङ गर्न सकेनन् ।
१५ बलमा १ चौकासहित १३ रन जोडेर मार्टिन गप्टिल आदित्य महतोको बलमा किशोर महतोद्वारा क्याच आउट भए । उनी आउट हुँदा टोलीले ४५ रन बनाएको थियो ।
लगत्तै ओपनर लोकेश २६ बलमा २ चौका र १ छक्कासहित २८ रनमा संगिथको बलमा किशोरद्वारा समातिए । टप अर्डरका ३ ब्याटर आउट हुँदा विराटनगरले ५५ रन मात्रै जोडेको थियो ।
जनकपुरले १० ओभरसम्म निरन्तर स्पिनरले बलिङ गरे । जहाँ रन जोड्न विराटनगरले संघर्ष गर्नुपरेको थियो । १० ओभरको समाप्तिमा मात्र ५८ रनमा रोकिंदा विराटनगर दबाबमा आएको थियो ।
पहिलो ओभरदेखि लगातार १६ ओभर स्पिनर प्रयोग गरेको जनकपुरले १७ औं ओभरमा भने पेश बलर किशोर महतोलाई बलिङमा ल्यायो । १८ औं ओभरमा रूपेश सिंहले बसिर अहमद र शुभम रञ्जानेको ५२ रनको साझेदारी तोडे । बसिर चौथो विकेटको रूपमा आउट भए ।
३५ बल खेल्दै ३ छक्कासहित ३६ रनमा आउट भए । उनी आउट हुँदा टोलीले १ सय ७ रन बनाएको थियो । त्यही ओभरको अन्तिम बलमा रूपेशले २ रन बनाएका नारायण जोशीलाई आउट गरे । अन्तिम ओभरको दोस्रो बलमा रूपेशको बलमा शुभम विकेट किरप लोफ्टीद्वारा रन आउट हुन पुगे ।
शुभमले टोलीको लागि २९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन जोडेका थिए । लगत्तै अर्को बलमा मर्चान्ट डि लाङ्गे पनि रूपेशद्वारा रन आउट भए । उनले रनको खाता खोल्न सकेनन् ।
बलिङमा रूपेशले २ ओभरमा १२ रन दिएर २ विकेट लिंदै किफायती बलिङ गरे । संगिथले ४ ओभरमा ३६ रन दिएर २ विकेट झारे ।
यस्तै आदित्यले १ विकेट आफ्नो नाममा लेखाए । ३ खेलमा विराटनगरले ६ अंक बनाउँदा जनकपुरको यो लगातार दोस्रो हार हो ।
View : 263
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved