Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

तिहारमा मौलायो संगठित जुवातास

कोशी प्रदेशमा समातिए ७९ जना, साढे २६ लाख बढी रकम बरामद

उद्घोष सम्वाददाता
२० कार्तिक २०८१, मङ्गलवार

विराटनगर । तिहार अवधिमा कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो संख्यामा संगठित बनेर जुवातास खेल्ने कार्यमा संलग्न ७९ जना व्यक्तिहरू पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट २६ लाख ७३ हजार ४५ रूपैयाँ नगद बरामद गरेको छ ।

सुनसरीबाट मात्रै प्रहरीले ३८ जनालाई पक्राउ गरी कानुनी कारवाही अघि बढाएको जनाइएको छ । मोरङमा २७ जना, इलामबाट ११ जना र पाँचथरबाट तीन जना पक्राउ परेका हुन् ।

तिहारको मौका छोपेर व्यापक जुवातास हुने गरेको सूचना पाएपछि खटिएको प्रहरीले भाइटीकाको दिन विहान सुनसरी बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित जीवन कार्कीको घरबाट १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट नगद ९ लाख ६८ हजार ९९५ रूपैयाँ र २२ बुङ तास बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा ललितपुर सातदोबाटो बस्ने नवराज राई, सुनसरीको इटहरी–१ का प्रदीप तामाङ, बराहक्षेत्र–५ का नारायण कार्की, उत्तम मगर, बराहक्षेत्र–३ का बिदुर कार्की, दिनराज राई, मान बहादुर कार्की, बराहक्षेत्र–८ का खड्गबहादुर बिष्ट, रामधुनी–५ का गौरीशंकर लुइँटेल, बराहक्षेत्र–३ का रेवत थापा, खगेन्द्र कार्की र दिपेन्द्र कार्की रहेका छन् । 

त्यसैगरी भोजपुरको अरूण गाउँपालिका–३ का जीवन कार्की, हतुवागढी–७ का ज्ञान बहादुर राई र भोजपुरकै आमचोकका दुर्गाराज राई समेत पक्राउ परेको जनाइएको छ । 

पाँचथर प्रहरीले पनि आइतबार भाइटीकाकै रात फिदिम नगरपालिका–२ पल्लोटारबाट कौडासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम–२ का खेम अधिकारी, मदन अधिकारी र हिमाल नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक बिनालाल साहले बताए ।

खेमकै घरमा जुवा खेलिरहेको भन्ने सूचना पाएर पुगेको प्रहरीले उनीहरूको साथबाट ६० हजार ५३० रूपैयाँ नगदसहित १६ थान कौडा समेत बरामद गरेको जनाइएको छ । 

यसैबीच, गत शुक्रबार राति करीव १० बजेतिर विराटनगर महानगरपालिका–११ स्थित संगम पार्टी प्यालेस नै भाडामा लिएर जुवा खेल्ने १० जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा यातायात, पेट्रोलियम र तरकारीको थोक व्यवसायमा संलग्न व्यक्तिहरू रहेका छन् ।

उनीहरूले जुवातास खेलिरहेको ठाउँबाट १० लाख ६ हजार ९९५ रूपैयाँ र ५ बुङ तास समेत बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

शुक्रबार राति करिव १० बजेतिर प्रहरीले विराटनगर–११ स्थित संगम पार्टी प्यालेस नै भाडामा लिएर जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी वेद प्रकाश जोशीले बताए ।
पक्राउ पर्नेमा पार्टी प्यालेस सञ्चालक विराटनगर–११ का ५९ वर्षीय पदम श्रेष्ठसहित राजन कंडेल, पशुपति भगत, वीरेन्द्र साह, विराटनगर–३ का ध्रुव सिग्देल रहेका छन् । त्यसैगरी विराटनगर–५ का मनिराज प्रसाईं, विराटनगर–१२ का टुनटुन शर्मा, सुरेन्द्र ठाकुर, बाबुराम कट्टेल र लीला सहनी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कंडेल सुनौलो पूर्व नेपाल यातायात प्रालिका अध्यक्ष हुन् । शर्मा फर्निचर व्यवसायी, भगत  आलुप्याजका थोक व्यवसायी, कट्टेल यातायात व्यवसायी र सिग्देल पेट्रोलियम व्यवसायी हुन् । 

शुक्रबार नै सुनसरीको इनरूवा नगरपालिका–६ बलाहाबाट १६ जना पक्राउ परे । उनीहरूको साथबाट २ लाख ८३ हजार ९६५ रूपैयाँ बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ । 

सञ्चालनमा नभएको स्थानीय एक जुत्ता फ्याक्ट्रीमा जम्मा भएर जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । 

पक्राउ पर्नेमा इनरूवा नगरपालिका–६ का तीर्थराज अधिकारी, झगरू चौधरी, इन्देश सरदार, गौरव कोइराला, बालकृष्ण कोइराला, दिनेश पोखरेल, अमित कार्की, सुमन विश्वकर्मा, जीवन तामाङ, गोपाल बहादुर चौहान, राजिव दुलाल, श्रवण कुमार तामाङ, युजिन कोइराला, उग्रनारायण चौधरी, इटहरी–१३ का नेमलाल र इटहरी–१२ का भरत कटवाल रहेका छन् ।

उनीहरूको साथबाट १६ थान कौडा र दुई लाख ८३ हजार ९६५ रूपैयाँ नगद बरामद गरेको जनाइएको छ । 

त्यसैगरि विराटनगर महानगरपालिका–१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा विराटनगर–१६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको  थियो । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार रूपैयाँ र दुई बुङ सहित पक्राउ गरेको हो ।

तिहारकै मौका छोपेर जुवातास खेलेको आरोपमा इलामको इलाम नगरपालिका–७ बाट गत बुधबार ११ जना पक्राउ परे । जुवातास खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलामले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा इलाम–६ का सुमन श्रेष्ठ, रञ्जन विक, विकास लिम्बू, मणि कुमार प्रधान, मिनराज सुब्बा, इलाम–७ का सुवास श्रेष्ठ, अनिल श्रेष्ठ, इलाम–८ का देव कुमार राई, केशव सुवेदी, इलाम–६ का ४० वर्षीय सुन्दर परियार, इलाम–३ का २८ वर्षीय कर्ण थिए । उनीहरूलाई जुवातासको खालबाटै पक्राउ गरिएको इलाम प्रहरीले जनाएको छ । साथै दुई लाख ४५ हजार ३६० रूपैयाँ नगद र १० बुङ ताससमेत बरामद गरेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय धरानले पनि गत बुधबार नै धरान उपमहानगरपालिका–१ आदर्श मार्गस्थित शम्भु रेग्मीको घरबाट सात जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा धरान–१ का प्रज्वल रेग्मी, सविन बस्नेत, रवि चौधरी, प्रदिप सुवेदी, धरान–१६ का आशिष प्रधान, धरान–१५ का अविशेक लिम्बू र धरान–१२ का रवि साह रहेका छन् । उनीहरूलाई ४७ हजार २०० रूपैयाँ र एक बुङ ताससहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीले जुवातास खेलेको आरोपमा पक्राउ गरेका अधिकांशलाई भने हाजिरी जमानीमा छाडेको छ ।

View : 70

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved