Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

ग्रामथानमा अवैध खोला उत्खनन् तीब्र

उद्‌घोष संवाददाता
५ फागुन २०८२, मङ्गलवार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको विभिन्न ठाउँमा अवैध रुपमा खोलाबाट उत्खनन् भइरहेको भन्दै स्थानीय जनप्रतिनिधिहरूले विरोध जनाएका छन् । 

उनीहरूले गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले गैरकानुनी रुपमा लोहन्द्रा र सिंघिया खोला ठेक्काको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन स्वीकृत गरी उत्खनन् कार्य गरिरहेको आरोप लगाएका हुन् ।

अवैध रुपमा उत्खनन् भइरहेको दाबी गर्दै वडाध्यक्षहरूले स्थानीय प्रशासन समक्ष जानकारी गराउँदा कुनै पनि कारवाही नभएको गुनासो गरेका छन् ।

वडा नम्बर १ का वडाध्यक्ष सुरेशकुमार माझीले अहिले ग्रामथानका सवैजसो वडामा अवैध रुपमा माटो उत्खनन् भइरहेको जानकारी दिए । 

उनले गाउँपालिका अध्यक्षकै टोल गिधनियामा सिंघिया खोलाबाट अवैध रुपमा माटो निकालिएपछि आफूलगायतका वडा सदस्यहरूले विरोध जनाउँदा तत्काललाई रोकिएको बताए । तर अहिले पनि उत्खनन् कार्यको प्रयास भने भइरहेको उनले दाबी गरे ।

‘अहिले हाम्रो गाउँपालिकामा सवै वडामा यस्तै गरी खोलाबाट अवैध रुपमा माटो निकालिएको छ, त्यतिकै त कटान गर्न नपाइने हो’ उनले भने, ‘अध्यक्षले नै बाटो निकाल्न लगाएको जानकारी आएको छ, हामीले विरोध जनाएर प्रहरीलाई भनेपछि रोकिएको थियो, तत्काललाई रोकिए पनि अहिले पनि कसैको आडमा काटिएको छ ।’

उनले अध्यक्षकै टोलबाट माटो उत्खनन् भइरहेको घटनालाई सामान्य रुपमा लिन नहुने बताए । वडा नम्बर ४, ६ र ७ मा पर्ने लोहन्द्रा खोलाबाट समेत अवैध रुपमा खोला उत्खनन् भइरहेको वडाध्यक्षहरूले बताएका छन् ।

अवैध उत्खनन्बारे जिल्लास्थित सुरक्षा निकायमा समेत जानकारी गराएको तर उत्खनन् नरोकिएको वडा नम्बर ७ का वडाध्यक्ष वीरेन्द्र चौधरीले जानकारी दिए । 

उनले पालिका अध्यक्ष माझीले आफू निकट केही जनप्रतिनिधिहरूलाई हस्ताक्षर गरेर कार्यपालिकाबाट नियमित विपरीत आईइई प्रतिवेदन बनाएको र त्यसैका आधारमा अवैध रुपमा खोला उत्खनन् गरेको आरोप लगाए । 

‘प्रक्रिया बिना नै आईईई प्रतिवेदन बनाइएको छ, खोलामा २० फिटसम्म गहिरो खनिएको छ, वडा नम्बर ४ मा पनि यस्तै छ’ वडाध्यक्ष चौधरीले भने, ‘सिडियोलाई पनि फोन गरेँ तर गाउँपालिकाले प्रतिवेदन दिएपछि मात्रै हामी अनुगमन र कारवाही गर्छौं भन्नुहुन्छ, पालिका अध्यक्ष नै उत्खनन्मा लागेको छ भने कसरी उसले अवैध उत्खनन्को प्रतिवेदन दिन्छ त ?’

उनले लोहन्द्रा खोलामा अवैध उत्खनन् भइरहेका कारण अहिले ठुलठुला खाल्डा र पोखरी बनेको जानकारी दिए । खोलाबाट माटो उत्खनन्का लागि स्काभेटर र ठुलो संख्या ट्याक्टर प्रयोग गरिएको उनले बताए ।

वडा नम्बर १ मा बुढीगंगा गाउँपालिकाको सिमानामा रहेको सिंघिया खोला पश्चिमी भाग कटान गरेर पूर्वतिर आएकोले बुढीगंगातिरको जग्गा परेको भन्दै उख्खनन् गर्ने बहाना बनाएको पाइएको एक स्थानीयले बताए । उनले ग्रामथान–१ लखन्तरीसँग सीमानामा रहेको सिंघिया खोलामा ह्यूमपाइन नै राखेर ग्रामथानतर्फ स्काभेटर आएर उख्खनन् हुनु र गाउँपालिकाका अध्यक्ष यो विषयमा मौन हुनुले उनको संलग्नता भएको दाबी गरे ।

View : 274

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved