Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूवि टोली भारतीय विश्वविद्यालयहरुको अध्ययन भ्रमण पूरा गरी स्वदेश फिर्ता

उद्‌घोष संवाददाता
२१ वैशाख २०८३, सोमवार

गुरु गोविन्दसिंह इन्द्रप्रस्थ विश्वविद्यालय , दिल्ली भारत

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) को शैक्षिक गुणस्तर सुधार र परीक्षा प्रणालीलाई प्रविधिमैत्री (डिजिटलाइजेसन) बनाउने उद्देश्यका साथ भारतको भ्रमणमा गएको प्राध्यापक तथा कर्मचारीहरूको टोली सोमबार विराटनगर फर्किएको छ।

भारतका तीन प्रतिष्ठित विश्वविद्यालयको स्थलगत अध्ययन र अनुभव आदानप्रदानपछि टोली स्वदेश फर्किएको हो।

विशेषगरी गुणस्तर सुनिश्चितता (क्वालिटी एश्योरेन्स) का सफल अभ्यासहरूलाई पूर्वाञ्चल विश्वविद्यालयमा कसरी लागू गर्न सकिन्छ भन्ने विषय नै यस भ्रमणको मुख्य एजेन्डा थियो। गत वैशाख १४ गते विराटनगरको सीमावर्ती बजार जोगबनी हुँदै बस र पटनाबाट रेलमार्फत बनारस पुगेको सो टोलीले त्यहाँबाट आफ्नो व्यस्त कार्यतालिका सुरु गरेको थियो।

सहप्राध्यापक  प्रशान्तकुमार लालको नेतृत्वमा गएको सो टोलीले बनारसदेखि नयाँ दिल्लीसम्मका विश्वविद्यालयहरूमा पुगेर अन्तरक्रिया गर्नुका साथै पूर्वाञ्चल विश्वविद्यालयको गतिविधिबारे प्रस्तुतीकरण दिएको थियो।

टोलीले वैशाख १५ गते बनारसस्थित काशी हिन्दू विश्वविद्यालय पुगेर जानकारी लिएको थियो भने बुधबार त्यहाँका पदाधिकारीहरूसँग अन्तरक्रिया गरेको थियो।

त्यसपछि टोली नयाँ दिल्लीस्थित जामिया मिलिया इस्लामिया विश्वविद्यालय र गुरु गोविन्दसिंह इन्द्रप्रस्थ विश्वविद्यालय पुगेर अनुभव आदानप्रदान गरेको थियो।

भ्रमणका क्रममा टोलीले ती विश्वविद्यालयका उपकुलपति, प्राध्यापक एवम् उच्च पदस्थ कर्मचारीहरूसँग उच्चस्तरीय भेटघाट गरेको छ।

टोलीले काशी हिन्दू विश्वविद्यालयका रजिस्ट्रार प्रा. अरुणकुमार सिंह र आन्तरिक गुणस्तर सुनिश्चितता (आईक्यूएए) का संयोजक प्रा. भाष्कर भट्टाचार्य, जामिया मिलिया इस्लामियाका अन्तर्राष्ट्रिय सम्बन्धका डीन प्रा. उशविन्दर सिंह कौर पोपली, तथा गुरु गोविन्दसिंह इन्द्रप्रस्थ विश्वविद्यालयका उपकुलपति प्रा.डा. महेश वर्मा र अन्तर्राष्ट्रिय मामिला निर्देशक प्रा. गगनदीप शर्मासँग प्रत्यक्ष भेटेर छलफल गरेको थियो।

सहप्राध्यापक  प्रशान्तकुमार लालको नेतृत्वमा गएको  उक्त टोलीमा विश्वविद्यालयका विभिन्न क्याम्पसका निर्देशकहरू प्राडा धर्मेन्द्रकुमार सिंह, प्राडा रमाकान्त दास र सन्नीकुमार शाह तथा अस्पतालका निर्देशक डा. धिरेन्द्रकुमार गिरी सहभागी थिए।

यसैगरी, परीक्षा नियन्त्रण कार्यालयका सह-परीक्षा नियन्त्रक प्रमोद यादव, उपप्राध्यापक राखी वर्मा श्रीवास्तवलगायत सहभागी थिए।

भ्रमण अत्यन्तै उपलब्धिपूर्ण रहेको बताइएको छ। शैक्षिक गुणस्तर सुधारका  विषयमा भारतीय विश्वविद्यालयहरूले हार्दिकतापूर्वक आफ्ना सफल अभ्यासहरूको जानकारी दिएका थिए।

यो भ्रमणबाट प्राप्त सिकाइले पूर्वाञ्चल विश्वविद्यालयको  प्रशासनिक सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

View : 200

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved