मेचीनगर, झापा । वैदिक सनातन धर्म संरक्षण केन्द्रीय समिति नेपालले झापाको मेचीनगर–८ स्थित ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल पातालगंगामा शनिबार एक भव्य पुनर्मिलन तथा संरक्षण कार्यक्रम सम्पन्न गरेको छ। सनातन धर्मको रक्षा, ओझेलमा परेका धार्मिक स्थलहरूको प्रवर्धन र मानवीय सेवाको उद्देश्यले आयोजित उक्त कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम कोशी प्रदेशसभाका सभामुख अमरबहादुर विष्टको प्रमुख आतिथ्य तथा संस्थाका केन्द्रीय अध्यक्ष रामप्रसाद ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा धार्मिक पर्यटनको विकासबाट प्रदेशको आर्थिक र सांस्कृतिक समृद्धि हासिल गर्न सकिने विषयमा जोड दिइयो।
प्रदेश सांसद गोपाल तामाङ र सविना बजगाईंले सनातन संस्कृतिको महत्त्व राख्दै पर्यटकीय स्थलको विकासमा सक्रियता अपनाउनुपर्ने आवश्यकता बताए।
केन्द्रीय वरिष्ठ उपाध्यक्ष अग्निप्रसाद सिग्देलले संस्थाले विपन्न सनातनी परिवारका लागि सञ्चालन गरिरहेका राहत कार्यक्रमहरू सार्वजनिक गरे। उनले बताए कि विपन्न परिवारमा मृत्यु हुँदा चिताको दाउरा र गौदानको व्यवस्था गरिने तथा १३ दिने कर्मकाण्डका लागि निःशुल्क पुरोहित सेवा उपलब्ध गराइन्छ।
भद्रपुर स्थित ओमसाई पाथीभरा अस्पतालसँगको सहकार्यमा विपन्न सनातनीलाई उपचारमा ४० प्रतिशत छुट र अति विपन्नलाई निःशुल्क उपचार सेवा दिइने सिग्देलले जानकारी दिए।
संस्थाले धर्म परिवर्तन विरुद्ध अभियान र गोरक्षाका लागि आवाज उठाइरहेको छ। उपाध्यक्ष एवं प्रवक्ता आशुतोष खनाल र सिग्देलले वैदिक शास्त्रविरुद्ध भ्रम फैलाउने उद्देश्यले ल्याइएको ‘गीता ज्ञानगंगा’ नामक पुस्तकलाई संस्थाले पूर्ण रूपमा बहिष्कार गरेको बताए। ‘हाम्रो पहलमा गृह मन्त्रालयमार्फत देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई सो पुस्तकको प्रचारप्रसार रोक्न परिपत्र जारी भइसकेको छ,’ सिग्देलले भने।
सङ्गठन सुदृढीकरणका लागि हालै गठित सुनसरी समितिका अध्यक्ष सम्राट गौतमलाई पद तथा गोपनीयताको शपथ गराइएको थियो। कार्यक्रमको सफल संयोजन मदन अधिकारीले गरेका थिए भने महासचिव खगेन्द्रप्रसाद निरौलाले संस्थाको भावी योजना प्रस्तुत गरे।
संस्थाका संस्थापक आचार्य लक्ष्मीप्रसाद खतिवडा र प्राध्यापक दीपक पराजुलीको पनि उपस्थिति रहेको उक्त कार्यक्रममा हिन्दू, बौद्ध, शिख र जैन धर्मावलम्बीहरूलाई एकजुट गरी गुरुकुल र प्राचीन धार्मिक धरोहरहरूको संरक्षण गर्ने संकल्प गरियो।
२०७५ सालमा स्थापित यस संस्थाले हरेक वर्ष महत्त्वपूर्ण धार्मिक स्थलहरूमा यस्ता कार्यक्रम गर्दै आएको छ। केन्द्रीय सदस्य केदार आचार्यका अनुसार किच्चकवध, धनुषधाम, सताक्षीधाम र साधुटारमा सफल कार्यक्रम सम्पन्न भइसकेका छन् भने आगामी वर्ष सुनसरीमा यस्तै भव्य कार्यक्रम आयोजना गरिनेछ।
सो कार्यक्रममा दुई हजार पाँच सय बढीको उपस्थिति रहेको आचार्यले बताए ।
View : 359
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved