सुन्दरहरैंचा । साहित्यकार तथा शिक्षासेवी रामविक्रम थापालाई ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार २०८२’ प्रदान गरिएको छ । लामो समयदेखि शिक्षाक्षेत्रमा कार्यरत थापा सरस्वती माध्यमिक विद्यालय दिक्तेलका शिक्षक हुन् ।
शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै शिक्षक थापालाई दश हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।
थापा शिक्षण पेसामा प्रवेश गर्नुअघि तत्कालीन गाविस सचिव पदमा कार्यरत थिए ।
वि.सं. २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी भएका कारण थापा जागिरबाट हटाइएका थिए ।
सहिद जोशीको नाममा स्थापना गरिएको प्रतिभा पुरस्कार यस वर्ष शिक्षक थापालाई प्रदान गरिएको मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले जानकारी दिए ।
सहिद मनोज जोशीको ३४औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले थापालाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष शम्भु तामाङ, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य रेखा राई, सहिद परिवारको तर्फबाट समुन्द्रप्रसाद जोशी, राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुमनबाबु आचार्य, पूर्वसांंसद कुलप्रसाद फुयाल लगायतले मन्तव्य राखेका थिए ।
२०४८ साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौताअनुसारको सेवासुविधा नदिइएको विरोधमा कर्मचारीहरूले निकालेको शान्तिपूर्ण जुलुसमा ऐक्यबद्धता जनाउँदै सहभागी बनेका जोशीलाई दिक्तेलको हेलिप्याडमा प्रहरीको गोली लागेको हो ।
आन्दोलन र गोलीकाण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) ले मनोज–झपेन्द्र स्मृति दिवसका रूपमा मनाउँदै आएका छन् ।
परिवार तथा जिल्लावासीको लामो समयदेखिको मागका बाबजुद जोशीलाई नेपाल सरकारले २०७४ माघ २२ गते सहिद घोषणा गरेको थियो ।
View : 525
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved