विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई जिताउन एमाले नेता लालबाबु पण्डितको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
सोमबार बसेको क्षेत्र नम्बर ६ को क्षेत्रीय कमिटीको बैठकले सोही क्षेत्रबाट निर्वाचित पूर्व सांसद पण्डितको संयोजकत्वमा ५०१ सदस्यीय कमिटी गठन गरेको हो ।
कमिटीमा सोहीबाट निर्वाचित पार्टी केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी पदाधिकारी र सदस्यहरू, महानगर, नगर, गाउँपालिका कमिटीका पदाधिकारी र सदस्यहरू, जनसंगठनका पदाधिकारी र सदस्य लगायत ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।
निर्वाचन परिचालन कमिटीले क्षेत्र नम्बर ६ मा रहेका तीनवटा पालिकाको २० वटा वडामा केन्द्रित भएर चुनावी प्रचार–प्रसार अभियान सञ्चालन गर्ने जनाइएको छ ।
अहिले विभिन्न वडाहरूमा तीब्रताका साथ वडा भेलाहरू भइरहेको महानगर अध्यक्ष गिरीले बताए ।
नेता ढकालले यस पटक आफ्नै भूगोल रहेको क्षेत्रबाट निर्वाचनमा होमिएका हुन् । उनले अहिले कार्यकर्ता र शुभेच्छुकहरूको भेटघाटलाई तीब्र पारेको जनाइएको छ ।
मोरङको क्षेत्र नं. ६ मा विराटनगर महानगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, ९, ११ र १२, सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ र बुढीगंगा गाउँपालिका सवै रहेको छ ।
यस क्षेत्रका ३९ मतदान स्थलमा १४९ मतदान केन्द्र तोकिएका छन् । १ लाख ३७ हजार ८३२ मतदाता रहेका छन् ।
View : 218
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved