विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिले आगामी माघ २१ गते कार्यालय भवनको शिलान्यास गर्ने भएको छ ।
अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा बिहीबार बसेको प्रदेश समितिको सातौं बैठकले सोही दिन सातौं प्रदेश सभा (साधारण सभा) समेत गर्ने निर्णय गरेको जनाइएको छ ।
प्रदेश सभाको अवसर पारेर ३ करोड २९ लाख रुपैयाँ लागत अनुमान गरिएको सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरिने अध्यक्ष राउतले बताए । महासंघले मोरङको बुढिगंगा गाउँपालिका–२ सक्मामा जग्गा खरिद गरिसकेको छ ।
उक्त जग्गामा दुईसय मानिस अट्ने सभा हल, अतिथिगृह र सुविधा सम्पन्न अढाइतले सचिवालय भवन निर्माण हुने अध्यक्ष राउतले जानकारी दिए ।
महासंघको भवन निर्माण गर्न विराटनगर–४ का लक्ष्मण बस्नेतले एक कठ्ठा जग्गा महासंघलाई बिक्री गर्दा थप एक कठ्ठा जग्गा निशुल्क उपलब्ध गराएका थिए ।
महासंघको भवन निर्माण गर्न तत्कालिन कार्यसमितिको उपाध्यक्ष रहेका राउतको संयोजकत्वमा निर्माण समिति नै बनाइएको थियो ।
अहिले महासंघ कोशी प्रदेश समितिको अध्यक्ष रहेका राउतले आफ्नो कार्यकालमै सुविधा सम्पन्न कार्यालय भवन बनाउने गरी अघि बढेका हुन् ।
महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको उपस्थितिमा भवन निर्माणको भव्य शिलान्यास गरिने जनाइएको छ ।
View : 122
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved