Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न सिएनआई उपाध्यक्ष घिमिरेको माग

उद्‌घोष संवाददाता
४ असोज २०८२, शनिवार

विराटनगर । नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले निजी क्षेत्रको सुरक्षाको माग गरेका छन् ।

उनले जेनजी आन्दोलनमा संलग्न युवाहरूले भ्रष्ट्राचारविरुद्ध आवाज उठाएको प्रति समर्थन रहेको जनाउँदै सोही क्रममा उद्योगी व्यवसायीहरूको लगानी र निजी सम्पति समेत क्षति पुग्ने गरी भएको आक्रमण, तोडफोड र आगजनीप्रति परिसंघको गम्भीर ध्यानाकर्षण भएको बताए । 

आन्दोलनका क्रममा सिएनआईका संस्थापक अध्यक्ष विनोद चौधरी, नेपालकै सफल व्यवसायी मीन बहादुर गुरुङ, हेमराज ढकाल लगायतका निजी उद्योग, निवास, पसल, शोरुम तथा अन्य सम्पत्ति माथि आगजनी हुनु दुखद् भएको बताए ।

‘निजी क्षेत्र केवल व्यवसायहरूको समूह मात्र होइन, यो राष्ट्रको विकासको मेरुदण्ड हो, यसले लगानी गर्छ, राजस्व श्रृजना गर्छ, रोजगारी दिन्छ, आवश्यक वस्तु र सेवा उत्पादन गर्छ र आत्मनिर्भर नेपालको सपना अघि बढाउँछ’ घिमिरेले भने, ‘जीवन धान्ने, परिवारलाई सहयोग गर्ने र अर्थतन्त्रलाई बलियो बनाउने यस्ता संस्थामाथि आक्रमण गर्नु राष्ट्रकै हानी हो, यस्ता कार्यहरू कहिल्यै स्वीकार्य हुन सक्दैनन् ।’

विनाशकारी घटनाहरू रोकिएनन् भने उद्योगीहरू पलायन हुनसक्ने, पूँजी बाहिरिन सक्ने, उत्पादन थुनिने, आपूर्ति श्रृंखला भंग हुने र आर्थिक गतिविधि अवरुद्ध हुने बताए । जसको परिणाम देशलाई अराजकता र राज्य असफलतामा पु¥याउन सक्नेतर्फ सवै सचेत हुनु आग्रह गरे । 

आम नागरिकसहित उद्योगी व्यवसायीले देशभित्र गरेको लगानीको संरक्षण र सुरक्षा गर्नु राज्यको समेत प्रमुख जिम्मेवारी भएपनि राज्य त्यसबाट चुकेको उपाध्यक्ष घिमिरेले बताए । उनले आन्दोलनको नाममा क्षति, त्रास वा हिंसा मच्चाउने व्यक्तिहरू वा समूहलाई छानबिन गरी कानूनी कारबाही गर्न वर्तमान सरकारसँग आग्रह गरे ।

सिएनआईले राष्ट्रिय विकास र समृद्धिको सवालमा सवै उद्योगी व्यवसायीहरू दृढ, सकारात्मक र रचनात्मक रहेको बताउँदै अन्तरिम सरकार, जेनजी, राजनीतिक दल र अन्य सरोकारवालाको ध्यानाकर्षण गराएको उनले बताए ।

View : 486

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved