Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

राष्ट्रियसभा निर्वाचनः कोशीमा चार दलले उठाए पाँच उम्मेदवार

उद्घोष सम्वाददाता
२४ पुष २०८०, मङ्गलवार

विराटनगर । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट चार राजनीतिक दलसम्वद्ध पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन् । अन्य र महिला क्लष्टरका दुई सिटका लागि निर्वाचन हुँदैछ ।

कोशी प्रदेश निर्वाचन कार्यालयमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले अन्यतर्फ र माओवादी केन्द्रकी चम्पादेवी कार्कीले महिला क्लष्टरमा उम्मेदवारी दर्ता गरेकी छन् । सिटौलाको प्रस्तावकमा कोशी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् । उनले साइत हेरेर १० बजेर २१ मिनेटमा उम्मेदवारी दर्ता गरेका हुन् ।

उम्मेदवारी दर्ता गरेपछि सिटौलाले राष्ट्रिय समस्याहरुको समाधान गर्न पार्टीको सिफारिस अनुसार उम्मेदवार बनेको बताए । उनले राष्ट्रिय समस्या समाधान गर्न सवै दलहरु एकैठाउँमा हुनुपर्ने बताए । मुलुकमा संविधान निर्माण गर्न र शान्ति प्रक्रियालाई अघि बढाउन आफूले सवै दलहरुसँग सहकार्य गरेकोले निर्वाचनमा विजयी हुने सिटौलाले विश्वास व्यक्त गरे ।

माओवादीकी कार्कीको प्रस्तावकमा माओवादीका प्रदेशसभा सदस्य गणेश उप्रेती र समर्थकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रामकुमार खत्री  छन् ।  ओखलढुंगाको सुनकोशी घर भएकी कार्की माओवादी सशस्त्र आन्दोलनकी घाइते हुन् । बम विष्फोटनमा उनको दाहिने हात काटिएको छ ।

त्यसैगरी राष्ट्रियसभा सदस्यका लागि नेकपा एमालेले अन्यतर्फ भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रुकमिणी कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् । अधिकारीको प्रस्तावकमा प्रदेशसभा सदस्य  सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी छन् । 

मनोनयन दर्ता गरेपछि अधिकारीले भने, ‘राष्ट्रिय राजनीतिमा एमालेको साथ बिना कुनै पनि दल अघि बढ्न सक्दैन, सवै जनप्रतिनिधिहरुले विवेकपूर्ण ढंगले मतदान गर्नु हुनेछ, एमालेले कोशी प्रदेशमा जित सुनिश्चित गर्नेछ ।’

त्यसैगरी महिलातर्फकी उम्मेदवार कोइरालाको प्रस्तावकमा प्रदेशसभा सदस्य रामप्रसाद महतो र समर्थकमा शिला दीक्षित कार्की  छन् ।

कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत अन्य क्लष्टरमा उम्मेदवारी दर्ता गराएको छ । राप्रपाबाट उद्वव पौडेलले उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेतासमेत रहेका प्रदेश सांसद भक्तिप्रसाद सिटौला छन् । समर्थकमा झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन  छन् ।

राष्ट्रियसभा संसदीय दलको नेता रहेका कांग्रेसका रमेशजंग रायमाझी र माओवादी केन्द्रकी बीना पोखरेलको कार्यकाल आगामी फागुन २० गते सकिंदैछ । रिक्त ती  दुई ठाउँका लागि निर्वाचन हुन लागेको हो । 

राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनभित्र नेपाली कांग्रेस र माओवादी केन्द्रले पूर्ववत् आफ्नो एक–एक सिट यसपटक पनि पाउने सहमति भएअनुसार दुवै दलले उम्मेदवारी दिएका छन् । सोही सहमति अनुसार नेपाली कांग्रेसले झापाका सिटौलालाई र माओवादीले ओखलढुंगाकी कार्कीलाई उम्मेदवार बनाएको हो ।

गठबन्धनभित्रका दलहरुको मतभारका कारण आफ्नो जितप्रति सिटौला र कार्कीले दुवै निश्चिन्त रहेको बताएका छन् । 

View : 127

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved