Biratnagar, Morang, Nepal
१४ असार २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

घर्तीभिरको चट्टान फुटाएर बनाइयो सडक

उद्‌घोष संवाददाता
१४ असार २०८३, आइतवार

Advertisement

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सीमा नजिक पर्ने चर्चित घर्तीभिरको चट्टना फुटाएर सडक निर्माण गरिएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट आहाले–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सडकखण्डमा पर्ने घर्तीभिरको विशाल चट्टान फुटाएर सडक निर्माण गरिएको हो । 

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत रु एक करोड सात लाख ७८ हजार लगानीमा सडक निर्माणको काम सम्पन्न गरिएको छ ।

मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजन भएको दुई करोड बजेटमा ठेक्का प्रक्रियाबाट कमला कस्ट्रक्सन एन्ड सप्लायर्स उदयपुरले एक करोड सात लाखमा सम्झौता गरेर घर्तीभिरको चट्टान फुटाएको भौतिक पूर्वाधार कार्यालय खोटाङका लेखा अधिकृत सीताराम राउतले जानकारी दिए ।

ठेकेदार कम्पनीले करिब पाँच महिना लगाएर स्काभेटरमार्फत ब्रेकर लगाएर चट्टान फुटाएर घर्तीभिरमा सडक पार गराइएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिए । घर्तीभिरको सडक निर्माणका लागि ठेकेदार कम्पनीले २०८२ माघमा भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । 

दिक्तेल–आहाले–रेग्मीटार सडकखण्डको साप्सुखोला किनारमा रहेको घर्तीभिर फुटाएर सडक निर्माण गरेपछि शनिबार कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले आहाले–रेग्मीटार–सगरमाथा राजमार्ग जोड्ने सडक उद्घाटन गरे ।

“महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकखण्ड लामो छ । घर्तीभिर काटेर त्योभन्दा सिधा र छोटो सडक मार्ग खोलिएको हो”, उनले भने, “यो सडक यात्रु तथा यातायात व्यवसायी दुवैका लागि उपयोगी छ ।”

बिगतमा पनि घर्तीभिरलाई काटेर छोटो दूरीको सडक बनाउने योजना बनाए पनि पहरा काट्न कसैले आँट गरेका थिएनन् ।

कोशी प्रदेश सरकारअन्तर्गत खोटाङमा भौतिक पूर्वाधार कार्यालय स्थापना भएपछि आवश्यक बजेट विनियोजन गरेर घर्तीभिरको चट्टान फुटाएर सडक निर्माण गरिएको हो ।

गोरेटो बाटो सञ्चालनमा रहेको भिर काटेर सडक बनाइएपछि दिक्तेलबाट उदयपुरको गाईघाट हुँदै पूर्वी तराईका विभिन्न जिल्ला आवतजावात गर्ने छोटो दूरीको सडक मार्ग खुलेको छ ।

सुरुमा दिक्तेलबाट महुरे–बुइपा–राजापानी–रेग्मीटार–फोक्सिङटार हुँदै गाईघाट जानेआउने गरिएको थियो । त्यसको विकल्पमा दिक्तेलबाट आहाले–राजापानी हुँदै रेग्मीटार पुगेर गाईघाट आवतजावत गर्ने गरिएको छ । 

दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला आवतजावत गर्ने सबैभन्दा छोटो दूरीको सडक भएकाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ ।

निर्माणाधीन सडकलाई जोड्नका लागि राजापानीस्थित घर्तीभिर बाधक बन्दै आएको थियो । सगरमाथा लोकमार्गको दिक्तेल–गाईघाट सडकखण्डको कहुरे–फोक्सिङटार सडक लामो भएपछि दिक्तेल–रेग्मीटार सडक निर्माण सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

“दिक्तेल–महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकभन्दा दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडकखण्ड साढे १७ किलोमिटर छोटो छ ।

दिक्तेल बजारबाट तराई जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक भएकाले भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट विनियोजन गरिएको हो”, उनले भने, “नगरपालिकाको डेढ करोड बढी बजेटमा दिक्तेलबाट घर्तीभिरसम्म र रेग्मीटारबाट घर्तीभिरसम्म दुवैपट्टिको कच्ची सडक निर्माण गरिसकेका थियौँ । बाधकका रुपमा रहेको घर्तीभिरको ठूला चट्टानसमेत फोडेर सडक बनेपछि नियमित यातायात सञ्चालन गर्ने योजनामा छौँ ।”

दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकखण्डमा नियमित यातायात सञ्चालन भएमा पूर्वी तराईका विभिन्न जिल्ला यात्रा गर्न, जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ ।

घर्तीभिरमा रहेको चट्टान फुटाउन तथा यसअघि निर्माण गरिएका सडक स्तरोन्नति गर्नेगरी पूर्वाधार विकास कार्यालयले गत वर्ष ठेक्का लगाएको हो ।

प्रदेश सडक पुल सहयोग एकाइ इटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट पूर्वाधार विकास कार्यालयमा प्राप्त रु तीन करोड बजेटमा सोही सडकखण्डको दिखुवाखोलामा मोटरेबल पुलसमेत निर्माणको काम भइरहेको छ । 

दिखुवाखोलामा निर्माण सुरु गरिएको ट्रस पुलका लागि आवश्यक करिब रु दुई करोड बढीको स्टिल ट्रस निर्माणस्थलमा ढुवानी गरिएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–रेग्मीटार सडकखण्डको दिखुवाखोलामा मोटरेबल पुल नहुँदा वर्षात्को समयमा करिब छ महिना यातायात ठप्प हुँदै आएको छ ।

कालोपत्रको काम अलपत्र परेको दिक्तेल–महुरे (२० किलोमिटर) तथा महुरे–राजापानी–रेग्मीटार सडक (२९ किलोमिटर) गरी दिक्तेल–रेग्मीटार सडक (५९ किलोमिटर) लामो छ ।

प्रदेश सरकारको लगानीमा निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक कालोपत्र हुँदै गरेको दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोट्टिएको छ ।

View : 48

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved