विराटनगर । जेनजी आन्दोलनका क्रममा झापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको पेस्तोल, त्यसमा लाग्ने म्यागजिन र ४० राउण्ड गोलीसहित प्रहरीले २२ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
झापाको कन्काई नगरपालिका–८ मिश्रा टोलस्थित तुलबहादुर थापा मगरको घरमा लागुऔषध तथा अवैध हातहतियार लुकाई राखिएको गोप्य सूचना पाएको थियो ।
सोही सूचनाको आधारमा खटिएको प्रहरीले स्थानीय मगरका छोरा २२ वर्षीय सौगात थापा मगरले कुखुराको खोरमा प्लाष्टिकको ड्रमभित्र लुकाइराखेको सीएफ ९८९ एमएमको पेस्तोल, त्यसको म्यागजिन र ४० राउण्ड गोली बरामद गरेको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोली र लागुऔषध ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीको संयुक्त टोलीले खानतलासी गर्दा पेस्तोल, म्यागजिन र गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बरामद पेस्तोल, म्यागजिन र गोली जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाटै लुटिएको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीले उक्त पेस्तोल लुटपाटको घटनामा संलग्न झापाकै कन्काई नगरपालिका–८ बस्ने २२ वर्षीय सुजय राजवंशीलाई समेत पक्राउ गरेको छ ।
उनीमाथि मुलुकी अपराधसंहिता २०७४ को व्यवस्थाबमोजिम अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाइएको जनाइएको छ । फरार रहेका सौगातको भने खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
View : 119
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved