Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

एनपीएल दोस्रो संस्करण : यस्तो छ विराटनगर किंग्स टिम

नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक दासानायकेले एनपीएल दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने निश्चित भइसकेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुकै प्रशिक्षणमा नेपालले सन् २०१४ को टि–२० विश्वकप जितेको थियो ।
उद्‌घोष संवाददाता
२५ कार्तिक २०८२, मङ्गलवार

विराटनगर । गत वर्ष आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण विराटनगर किंग्सका लागि बिर्सनलायक रह्यो । 

कोशी प्रदेशको राजधानी सहर विराटनगरलाई प्रतिनिधित्व गर्ने एनपीएलको फ्रेञ्चाइजी टोली विराटनगरले गत वर्ष आठ टिम सहभागी प्रतियोगिता अंक तालिकाको छैटौं स्थानमा आफूलाई सीमित गराएको थियो । 

नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स यसपटक भने उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिदैछ । 

‘यसपटकको हाम्रो उद्देश्य उपाधि नै हो,’ विराटनगर किंग्सका लगानीकर्ता सुयस प्याकुरेलले भने ‘यसपटक टिम पनि बलियो र सन्तुलित बनेको छ । अभ्यास पनि राम्रो भएको छ ।’ 

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मंसिर १ मा सुरु हुँदैछ । यसपटक फेरिएको स्वरूपको त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलहरू आयोजना हुँदैछन् । मंसिर १ देखि सुरू हुने एनपीएल २७ दिनसम्म चल्नेछ भने आठ फ्रेञ्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो संस्करणको एनपीएल जनकपुर बोल्ट्सलाई जिताएका प्रशिक्षक पुबुदु दासानायके यसपटक विराटनगरको प्रशिक्षकका रुपमा मैदानमा देखिने छन् । 

नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक दासानायकेले एनपीएल दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने निश्चित भइसकेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुकै प्रशिक्षणमा नेपालले सन् २०१४ को टि–२० विश्वकप जितेको थियो । 

एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक हुन् । 

नेपाल सम्मिलित विश्व कप क्रिकेट लिग टु अन्तर्गत हालै सम्पन्न युएई त्रिकोणात्मक सिरिजमा अमेरिकाले सबै ४ खेल जितेको छ । 

‘अनुभवी र सफल प्रशिक्षक पुबुदुको प्रशिक्षणमा हामी उत्साही छौं’ प्याकुरेलले भने ‘उहाँलाई धमिकाप्रसादले ब्याटिङ कोचका रुपमा साथ दिनु हुनेछ ।’

कुनै बेला आफै पनि श्रीलंकाको राष्ट्रिय टोलीबाट खेलेका पुबुदु र धमिकाप्रसादको काँधमा विराटनगरलाई अघि बढाउने जिम्मेवारी यसपटक आएको छ ।

गत वर्ष जस्तै यसपटक पनि नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने विराटनगरका मार्की खेलाडी हुन् । उनकै कप्तानीमा विराटनगर मैदानमा उत्रनेछ । 

यसपटक विराटनगरबाट सन्दिपसहित बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, प्रतिश जिसी, नारायण जोशी, श्रवण किस्कु, साहिल पटेल (विकेटकिपर), शंकर राना र सूर्य तामाङ लगायतका नेपाली खेलाडी छन् । 

विराटनगरले यसपटक भित्र्याएका विदेशी खेलाडीहरूमध्ये दक्षिण अफ्रिकी खेलाडी फाप डु प्लेसिस सबैभन्दा ठूला स्टार हुन् । 

अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीमध्ये एक उनले कप्तानको रुपमा दक्षिण अफ्रिका र आइपीएलको फ्रेन्चाईज रोयल च्यालेन्जर बेग्लोरलाई नेतृत्व गरेको अनुभव छ । उनको अनुभव र नेतृत्वले टोलीलाई अझ बलियो बनाउने विश्वास विराटनगर किङ्सले गरेको छ ।

‘फाफ डु प्लेसिसजस्ता विश्वस्तरीय खेलाडी आउनु विराटनगर किंग्स र एनपीएलको लागि गर्वको कुरा हो । 

उनको आगमनले विराटनगर किंग्स र एनपीएलको लागि आउने दिनमा अन्य विश्व स्तरिय खेलाडी आउन अझ उत्साहित हुनेछन’  विराटनगका टिम डाइरेक्टर दिपेन्द्र चौधरीले भने । डु प्लेसिसले दक्षिण अफ्रिकाबाट ६९ टेस्ट, १ सय ४३ ओडीआई र ५० टि ट्वान्टी आई खेलेका छन् । 

टि ट्वान्टी आईमा ३५ं.५३ को औसतमा १ हजार ५ सय २८ रन बनाएका उनी सफल अन्तर्राष्ट्रिय खेलाडीका रुपमा स्थापित छन् ।  न्यूजिल्याण्डका लिजेन्ड ओपनर ब्याटर मार्टिन गप्टिललाई यसपटक पनि विराटनगरले निरन्तरता दिएको छ । 

आक्रामक ब्याटिङका लागि चिनिने गप्टिलले एनपीएलको पहिलो संस्करण पनि विराटनगरबाटै खेलेका थिए । 

एनपीएल दोस्रो सिजनका लागि स्कटल्याण्डका ब्याटर जर्ज मुन्सेलाई पनि विराटनगरले अनुबन्ध गरेको छ । मुन्से टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक ब्याटिङका लागि परिचित खेलाडी हुन् । उनले स्कटल्याण्डको तर्फबाट ५० भन्दा बढी टि ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

अष्ट्रेलियाका अलराउण्डर साम हिजलेट पनि विराटनगरका अर्का विदेशी खेलाडी हुन् । साम अष्ट्रेलियाका यू–१९ टिमबाट अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलिसकेका खेलाडी हुन् । उनले अष्ट्रेलियाको बिगब्यासमा ब्रिसबेन हिटर होबर्टहुरिकेंसबाट उनले खेलेका छन् । सामले खेलहरूमा उत्कृष्ट स्ट्राइक रेट साथ प्रदर्शन गर्दै आएका छन् । 

उनीसँग ५० भन्दा बढी बिगब्यास लिग म्याच खेलेको अनुभव छ । दक्षिण अफ्रिकाका बलर मर्चेन्ट डे लेङ्गे र अमेरिकाका अलराउण्डर शुभम रन्जने पनि विराटनगर किंग्सका विदेशी खेलाडीहरू हुन् । 

स्वदेशी तथा विदेशका अनुभवी र उत्कृष्ट खेलाडीहरू सँगै युवा खेलाडीहरू समेटिएको टोली यसपटक ज्यादै सन्तुलित बनेको विश्वास विराटनगर किंग्सको छ । 

सम्भवतः यही सन्तुलनकै बलमा हुनुपर्छ विराटनगरका अफिसियलहरू भन्छन् ‘यसपटक हामी उपाधिका लागि खेल्छौं ।’

View : 269

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved