सिड्नी । अस्ट्रेलियामा नेपालीको उपस्थिति सुरु भएको ५० वर्ष पूरा भएको अवसरमा सिड्नीमा विशेष कार्यक्रम आयोजना हुने भएको छ ।
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको आयोजनामा आगामी नोभेम्बर २७ र २८ तारिखमा सिड्नीको हर्सभिलस्थित मराना हलमा कार्यक्रम हुन लागेको हो ।
सन् १९७६ मा स्थापना भएको यस संस्थाले अस्ट्रेलियामा नेपाली समुदायको इतिहास र योगदानलाई स्मरण गर्दै स्वर्ण जयन्ती कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रममा सहभागी हुन नेपालबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, वरिष्ठ चिकित्सक डा. भगवान कोइराला, हास्य कलाकार मनोज गजुरेल तथा गायिका शान्तिश्री परियार अस्ट्रेलिया आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाली कला, संस्कृति, मनोरञ्जन तथा सामाजिक क्षेत्रका विभिन्न गतिविधि समेटिने अपेक्षा गरिएको छ ।
अस्ट्रेलियामा नेपाली समुदायको सुरुवाती इतिहास, यहाँको समाजमा नेपालीको योगदान र पाँच दशकको सामुदायिक यात्रालाई स्मरण गर्ने यो अवसरलाई विशेष रूपमा हेरिएको छ ।
View : 35
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved