विराटनगर । साहित्यकार निर्मला कोइरालाद्वारा सम्पादित ‘अक्षरको यात्री’ समालोचना संग्रह सार्वजनिक गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरको एलिट क्लबमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार डा. कृष्णप्रसाद दाहालसहित साहित्यिक क्षेत्रका अग्रज व्यक्तित्वहरूले संयुक्त रूपमा सो संग्रहको विमोचन गरेका हुन् ।
‘अक्षरको यात्री’ मा १६ जना साहित्यकारका कृतिमाथि आधारित समालोचनात्मक लेख समेटिएको छ ।
संग्रहमा वरिष्ठ साहित्यकार विश्वेश्वरप्रसाद कोइरालादेखि पछिल्लो पुस्तासम्मका सिर्जनाहरूको आलोचनात्मक अध्ययन समावेश गरिएको छ, जसले पुस्तान्तरबीचको साहित्यिक सेतु निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
विमोचन समारोहमा वरिष्ठ साहित्यकार डा. कृष्णप्रसाद दाहालले नेपाली साहित्यमा समालोचना विधाको प्रभाव विस्तार हुँदै गएको उल्लेख गर्दै सिर्जनाको मूल्याङ्कन र विश्लेषणले साहित्यलाई परिष्कृत बनाउँदै नयाँ सिर्जनाका लागि मार्गदर्शन पनि गर्ने बताए ।
संग्रहकी सम्पादक निर्मला कोइरालाले कृतिले नेपाली साहित्यका विविध आयामलाई तथ्यपरक र सन्तुलित दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास गरेको बताइन् ।
‘समालोचना केवल समीक्षा होइन, यो पाठक र सर्जकबीचको संवाद हो’, उनले भनिन् ।
कार्यक्रममा वक्ताहरूले ‘अक्षरको यात्री’ले समालोचनालाई केवल आलोचना नभई बौद्धिक विमर्शको माध्यमका रूपमा स्थापित गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष एवं विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, महेन्द्र मोरङ क्याम्पसका पूर्वप्रमुख डा. बाबुराम तिमल्सिना, साहित्यकार खेम नेपाली, गंगा सुवेदी, बलराम पोखरेललगायतको उपस्थिति थियो ।
View : 330
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved