Biratnagar, Morang, Nepal
२ असोज २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

नोबेल अस्पतालमा सिटी रिक्साको सिण्डिकेटले बिरामीलाई मर्का

उद्घोष सम्वाददाता
२७ भदौ २०८१, बिहिवार

नोबेल अस्पताल परिसरमा यात्री नलिई बाहिरिंदै सिटी सफारी । तस्वीर : कमल/उद्घोष

Advertisement

विराटनगर । विद्युतीय रिक्सा (सिटी सफारी) र टेम्पोको सिण्डिकेटले विराटनगरको नोबेल मेडिकल कजेलबाट बाहिरिने बिरामी तथा कुरुवाले हैरानी खेप्दै आएका छन् ।

कानुनले सिण्डिकेट हटाए पनि हरेक क्षेत्रमा यात्रुबाहक सवारी साधन चल्ने ठाउँमा सिण्डिकेट कायम छ । अन्यत्र जस्तै नोबेल अस्पताल प्रवेशद्वारबाट बिरामी ओसार्ने सिटी तथा टेम्पोका सिण्डिकेट सञ्चालकहरूले पालोमा नम्बर लगाइएको बताउने गरेका छन् । दैनिक ३ हजार बिरामी र बिरामीसँगै आउने त्यो भन्दा बढी मानिस बाहिरिने अस्पताल परिसरबाट सिटी र टेम्पोले बिरामी चढाउन पाउँदैनन् ।

मोरङको पथरीबाट आफन्त बिरामी लिएर नोबेलमा आएका सिटी सफारी चालक खेम भट्टराई आफू जस्तै चालकको अवरोधबाट झस्किए । अस्पतालको बहिरङ (ओपीडी) सेवा लिएर बाहिरिएका आफन्त बिरामी र सँगै आएका बिरामीका आफन्तलाई लिएर बाहिरिने क्रममा अन्य चालकहरूले रोके । 

भट्टराईलाई बिरामी उतार्न भनियो । उनले आफन्तलाई पथरीबाट लिएर आएको र चार घण्टा कुरेर फर्कन लागेको बताएपछि मात्रै सिण्डिकेट सञ्चालन समितिका सदस्यले जान दिए ।

नोबेल अस्पताल बाहिरको सडक किनारमा लाइनमा राखिएका सिटी र टेम्पो सिण्डिकेटका सदस्यका हुन् । अस्पताल हाताभित्रबाट मानिस लिएर आउने सिटी टेम्पोलाई सिण्डिकेटका प्रतिनिधिले रोकेर बिरामी उतार्न लगाउँछन् । उत्रिएका बिरामीलाई सिण्डिकेटका बिरामीले लैजान पाउने नियम रहेको छ । स्थानीय भनिएका चालकहरूले बनाएको पालो प्रणाली र अस्पताल हाता भित्रबाट मानिस चढ्न नदिने नियमबाट दैनिक ठुलो संख्यामा मानिसले समस्या झेल्दै आएका छन् ।

नोबेल सिटी अटो समूहका लागि रकम जम्मा गरिएको कोषका सदस्य राजेश राजवंशीले अस्पतालले नै हाताभित्र पार्किङ गर्न नदिएकाले समूह बनाएर पालो लगाउन थालिएको बताए । समूहले सदस्यहरूबाट दैनिक रकम संकलन गरेर कोष पनि सञ्चालन गर्दै आएको छ । सिण्डिकेटले पालो नबसी बिरामी वा कुरूवा चढाउने साधनबाट दैनिक एक सय रूपैंयाँका दरले दस्तुर लिने गरेको छ ।

सिण्डिकेटमा आवद्ध ५० वटा साधन भएको बताउने सिण्डिकेट सदस्य दीपक राजवंशीले हिंड्न नसक्ने बिरामी बोकेको अवस्थामा मात्रै सिटी टेम्पोलाई छुट दिने गरिएको स्वीकार गरे । ‘अस्पतालभित्र बिरामी लिएर जान पाउछ, बोकेर बाहिर आउन पाउँदैन’ उनले भने । यातायात ब्यवस्था कार्यालयबाट उनीहरूले कुनै पनि ठाउँबाट यात्रु चढाउने र ओराल्न पाउने भनेर रूट इजाजत पाएका छन् । प्रदेशकै ठूलो अस्पतालमा सञ्चालित सिण्डिकेटको असर ठूलो संख्यामा मानिसले भोग्दै आएका छन् ।

अस्पतालबाट बाहिरिनेलाई निजी सवारी साधन वा एम्बुलेन्सकै यात्रा गर्नुपर्ने बाध्यता छ । सिटी र टेम्पोको भाडा दर न्यून भएकाले सर्वसाधरणलाई यी सवारी साधन सस्तो र सुलभ छन् । अस्पताल परिसरमा बिरामी उतारेका सिटी वा टेम्पो खाली बाहिरिन्छन् भनें सिटी टेम्पो चढ्न तीन सय मिटर पार गरेर गेट बाहिर आउनु पर्ने बिरामीका आफन्तलाई बाध्यता छ । नोबेल अस्पतालमा जाने जो कोहीले रित्तो सीटी र टेम्पो बाहिर निस्किएको देख्न सक्छन् ।

अस्पतालको बहिरङ सेवाको अवधिमा बिहान ९ देखि अपरान्ह ४ बजेसम्म यात्री पाइने भएकाले आफूहरूले पालो लगाएर प्रवेशद्वार बाहिर लाम बस्ने ब्यवस्था मिलाइएको अर्का सिण्डिकेट सदस्य सत्यनारायण राजवंशीले बताए ।

अस्पताल प्रशासनले हाताभित्र सिटी टेम्पो पार्किङ गर्न नदिएकाले बाहिर सिण्डिकेट सञ्चालन भएको देखिएको छ । नोबेलका प्रशासन प्रमुख दिपेश राईका अनुसार पहिले सिटी टेम्पो रोक्न दिइने गरिएको थियो । बिरामीका आफन्त, अस्पताल कर्मचारी र एम्बुलेन्सको चापले अहिले सिटी टेम्पो रोक्ने ठाउँ छैन । 

स्थानीय प्रशासन, विराटनगर महानगर र सरोकारवालाको कम्जोरीका कारण सिटी टेम्पोमा बिरामी चढ्न नपाएको राई बताउँछन् । उनले अस्पताल परिसरभित्र सिटी टेम्पो नभई एम्बुलेन्सलाई पनि पार्किङबाट रोक लगाइएको बताए । टाढाबाट बिरामी लिएर आएका र लिएरै जाने एम्बुलेन्सलाई भनें पार्किङ गर्न दिने गरिएको उनको भनाइ छ । ‘गेट बाहिर सिटी टेम्पोले रोड रोकेका हुन्छन् एम्बुलेन्ससँग ठोक्किएर दुर्घटना हुने खतरा छ’ उनले भने ।

यसअघि कञ्चनबारी–नोबेल (के.एन.) अटो यातायात प्राली स्थापना भए पनि कानुनले त्यसलाई बर्जित गरेकाले ब्यवसायीहरूको सामुहिक संस्था छैन । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले यातायात ब्यवसायीका संघ खारेज भए पनि उनीहरू ब्यक्तिगत ब्यवसायीका रूपमा दर्ता गरेर पेशा गर्दै आएको बताए ।

ब्यवसायीले सिण्डिकेट सञ्चालन गरेको सूचनाका आधारमा प्रशासनले कारवाही पनि गर्दै आएको छ । नोबेल अस्पतालमा यस्तो सिण्डिकेट सुचारू रहेको जानकारी पहिलो पटक प्राप्त भएको बताउँदै उनले बिहीबार बिहानै प्रहरी पठाएर कारवाही गरिने जानकारी दिए ।

View : 164

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved