Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

म शासन गर्न आएको हुँ : नमोनारायण

उद्‌घोष सम्वाददाता
१७ पुष २०८१, बुधवार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले आफू शासन गर्न आएको बताएका छन् । 

अवैध रुपमा माटो उत्खनन्मा संलग्नलाई कारवाही गर्नुको साटो उत्खनन् रोक्न प्रहरीलाई पत्राचार गर्ने प्रमुख प्रशासकीय अधिकृतमाथि स्पष्टिकरण सोधेर विवादित बनेका गाउँपालिका अध्यक्ष माझीले आफू मात्रै गाउँपालिकाको सर्वेसर्वा भएको दाबी गरेका हुन् ।

गाउँपालिकाकै उपाध्यक्ष र वडाध्यक्षसहितको अनुगमन टोलीले गरेको अनुगमनपछि प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले झोराहाट प्रहरी चौकीलाई नहर र सडक किनारमा गैरकानुनी रुपमा भइरहेको माटो उत्खनन् रोक्न आग्रह गर्दै पत्राचार गरेका थिए । पत्रचारपछि प्रमुख प्रशासकीय अधिकृत पौडेलविरुद्ध रुष्ट बनेका अध्यक्ष माझीले स्पष्टिकरण सोधेका थिए ।

स्पष्टिकरण सोधेपछि विवादमा आएका अध्यक्ष माझीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रमुख प्रशासकीय अधिकृत पौडेललाई कारवाही हुनसक्ने चेतावनी दिए । उनले आफू जनताबाट अनुमोदित भएकोले शासन गर्न आएको भन्दै बताए ।

‘उहाँले चिठी काट्नुभयो, नहरको दुवैतिर छुट्टै समिति छ, समितिको अधिकारमाथि हस्पक्षेप गर्नुभयो’ अध्यक्ष माझीले भने, ‘जनताले मलाई शासन गर्ने अधिकार दिएको छ, मेरो अनुमति बिना अनुगमन किन गर्नुप¥यो ? मलाई केही थाहा नभएपछि जनतालाई के जवाफ दिने ?’

नहरमा अवैध उत्खनन् गर्नेमाथि कारवाही हुन्छ कि हुँदैन भन्ने पत्रकारहरूको प्रश्नमा अध्यक्ष माझीले अर्को विवादित अभिव्यक्ति समेत दिए । उनले भने ‘अवैध उत्खनन् रोक्नु हुँदैन, रोक्नेलाई कारबाही हुन्छ ।’ 

माझीले आफू नभएको बेलामा अनुगमन गरिएकोमा असन्तुष्टि जनाए । ‘गैरकानुनी उत्खनन् कार्य रोक्का गर्ने सम्बन्धमा प्रहरी चौकी झोराहाटलाई काटिएको पत्रको सम्बन्धमा मेरो पूर्ण समर्थन रहेको आम जनताहरुलाई सुसूचित गर्दछु’ उनले विज्ञप्तिमा भनेका छन्, ‘तर यस सम्बन्धमा म काठमाडौं गएको समयमा त्यस्तो पत्र काटिएको तथा मलाई पत्र काटिएको सन्दर्भमा कुनै जानकारी नहुँदा आम नागरिकबाट विभिन्न प्रश्नहरू सोधनी भएकाले त्यस सम्बन्धमा मलाई जवाफ दिन गाह्रो भई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग कार्यालयबाट हुने काम कारवाही, सूचना लगायतका बिषयमा जानकारी गराउनु हुन भन्ने आशयले स्पष्ट जवाफ माग गरेकोमा त्यसलाई अपभ्रंस सिर्जना गरि जनता माझ गलत प्रचारबाजी भएकोमा यसप्रति खेद व्यक्त गर्दछु ।’

View : 108

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved