Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

जसपाका केन्द्रीय सदस्य एमालेमा

उद्घोष सम्वाददाता
५ भदौ २०८१, बुधवार

Advertisement

धनकुटा । जनता समाजवादी पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य धर्म राईसहित विभिन्न पार्टीका सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

एमाले धनकुटाले सामुदायिक भवनमा आयोजना गरेको तेस्रो पूर्ण बैठक तथा पार्टी प्रवेश कार्यक्रममा जसपा, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादीलगायत पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

जसपाका कोशी प्रदेश कमिटी उपाध्यक्ष दिपेश राई, प्रदेश कमिटी सदस्य एवं पूर्व धनकुटा जिल्ला अध्यक्ष बलबहादुर राई, सागुरीगढी गाउँपालिका कमिटी अध्यक्ष लिलाराज लावती पनि एमालेमा गएका छन् ।

नेपाली कांग्रेस साँगुरीगढी गाउँपालिका उपसभापति प्रकाश राई र नेकपा एसका नेता प्राडा गोपालबहादुर भट्टराई पनि एमालेमा प्रवेश गरेको एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन कटेलले जानकारी दिए ।

उनीहरूलाई एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राई, केन्द्रीय सदस्य एवं धनकुटा इञ्चार्ज राजेन्द्र राई, केन्द्रीय सदस्य शकुन्तला बस्नेत र बिनादेवी राई, अग्रज नेता गोपाल गुरागाईं, प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङ, प्रदेश सहसचिव देवानसिंह राई, जिल्ला अध्यक्ष शिव आङ्ला लगायतले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

यसैबीच एमाले जिल्ला कमिटी धनकुटाको बैठकले जिल्ला सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ । एमाले नेता भीम राईको अध्यक्षतामा ८९ सदस्यीय जिल्ला सल्लाहकार कमिटी गठन गरिएको छ । समितिको उपाध्यक्षमा इन्द्र पौडेल र सचिवमा लोकेन्द्र चापागाईंलाई चयन गरिएको छ ।

रामबहादुर श्रेष्ठको अध्यक्षतामा ९५ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको हो । समितिको उपाध्यक्षमा अगमबहादुर थापा र सचिवमा कुलबहादुर तितुङ चयन भएका छन् । उनीहरूलाई एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

View : 73

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved