Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

कृषि सामग्री कम्पनी कार्यालय प्रमुखको भरमा

उद्घोष सम्वाददाता
२४ भदौ २०८१, सोमवार

तनहुँ, २४ भदौ । तनहुँको व्यास नगरपालिका–३ तरकारी लाइनस्थित कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय प्रमुखको भरमा मात्र चलेको छ ।

तीन जिल्ला कार्यक्षेत्र भएको कम्पनी शाखा प्रबन्धक दिनेश शर्माको भरमा चलेको छ । कम्पनीमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा एक्लै चलाउनुपर्दा समस्या भएको प्रबन्धक शर्माले बताए । दुई श्रेणीविहीन कर्मचारीका भरमा आफू एक्लैले कार्यालय सञ्चालन गरिरहेको उनले सुनाए ।

“कुल सातजनाको दरबन्दी रहेको कार्यालयमा चारजनाको दरबन्दी खाली छ”, प्रबन्धक शर्माले भने, “विसं २०७६ देखि विज्ञापन रोकिँदा दरबन्दीको नयाँ कर्मचारी नआउने र भएका कर्मचारी अवकाश हुँदा कार्यालय रित्तिँदै गएको हो ।”

कार्यालयमा वरिष्ठ सहायक र सहायक दुई–दुईजना गरी चार दरबन्दी रिक्त छ । एकजनाले मात्र कार्यालय सञ्चालन गर्नुपर्दा आफू कतै जाँदा निमित्त कार्यालय प्रमुखको जिम्मेवारीसमेत दिन नपाएको प्रबन्धक शर्माको गुनासो छ ।

बिदामा बस्नुपर्दा वा नियमित कार्यालय प्रमुखको बैठकमा जाँदा कार्यालय कर्मचारीविहीन हुने गरेको उनले बताए । कर्मचारी पदपूर्तिका लागि कृषि सामग्री कम्पनी लिमिटेडको प्रधान कार्यालयलाई पटकपटक जानकारी गराए पनि पूरा हुन नसकेको प्रबन्धक शर्माको भनाइ छ ।

राजन न्यौपाने सरुवा भएर नवलपुरको कावासोती गएपछि आफू एक्लैले कार्यालय धान्नुपर्ने अवस्था आएको उनले बताए । तनहुँ, लमजुङ र गोरखाका किसानलाई मलखाद बिक्री वितरण गर्दै आएको उक्त कार्यालयमा जनशक्ति अभावले सेवा प्रभावित हुँदै आएको छ ।

यस कम्पनीले तीन जिल्लामा दुई सय १९ डिलरमार्फत किसानलाई मल बिक्री गर्दै आएको छ । विसं २०५२ र २०७३ मा विज्ञापन भई नियुक्त भएका बाहेक हालसम्म नयाँ कर्मचारी आएका छैनन् । विसं २०७६ मा भएको विज्ञापनउपर विवाद भई अदालतमा परेको मुद्दा हालसम्म कायमै छ ।

विज्ञापन विवादसम्बन्धी अदालतमा परेको मुद्दा विचाराधीन रहेकाले थप जनशक्ति नियुक्ति प्रक्रिया अवरुद्ध भई दरबन्दीअनुसारको कर्मचारी कार्यालयमा व्यवस्थापन हुन नसकेको शाखा प्रबन्धक शर्माले बताए ।  रासस

View : 126

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved