Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी टप्पुमा मलाहा बिरालो संरक्षण अभियान

उद्‌घोष संवाददाता
१ असार २०८२, आइतवार

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्षमा पाइने दुर्लभ तथा संकटापन्न प्रजातिको मलाहा बिरालोको संरक्षण गर्न समुदायमा सचेतना अभियान थालिएको छ । 

संरक्षणको अभावमा संकटमा परेको मलाहा बिरालोको संरक्षणका लागि आरक्षले स्थानीय समुदाय, संरक्षणकर्मी, अनुसन्धानकर्ता तथा विभिन्न सरोकारवाला निकायको सहभागितामा पहल सुरु गरेको हो । 

कोशी टप्पु वन्यजन्तु आरक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोष (कोशी प्रदेश) तथा फिसिङ क्याट कन्जर्भेसन एलायन्स (माछाखाने विरालोको संरक्षणका लागि बनेको गठवन्धन संस्था) को सहकार्यमा सुरु भएको कार्यक्रमबाट मलाहा बिरालोको संरक्षणप्रति समुदायमा थप चेतना फैलिने बिश्वास गरिएको आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवले जानकारी दिए ।

नेपालको तराई क्षेत्रमा पाइने यो दुर्लभ बिरालो प्रजातिको हो, जसलाई स्थानीय भाषामा ‘मलाहा बिरालो’ भनिन्छ । 

विशेषगरी सिमसार, नदी किनार तथा दलदलीय क्षेत्रमा बसोबास गर्ने यो जनावर माछा खानमा निकै दक्ष हुने मलाहा बिरालोका बारेमा अनुसन्धान तथा विद्यवारिधि गरेकी विज्ञ रमा मिश्रले बताइन् । उनका अनुसार यस प्रजातिबारे समुदायमा भ्रम छ, जसका कारण मानिसबाट नै यसलाई खतरा हुन थालेको छ । 

यसको जीवनशैली, बासस्थान र सिकार गर्ने तरिका अन्य बिरालो भन्दा फरक हुन्छ । यसले पानी प्रतिरोधी रौं, झिल्लिदार खुट्टा तथा रबरजस्तो पुच्छरको प्रयोग गरेर कुशलतापूर्वक पौडन्छ र माछा समात्छ । 

पछिल्लो समय सिमसार क्षेत्रको विनाश, माछाको संख्या घट्नु, तथा मानवद्वारा निर्मित माछा पोखरीमा राखिएका कुकुरहरूका कारण मलाहा बिरालोको संख्या दिनप्रतिदिन घटिरहेको मिश्रको भनाइ छ ।

नेपालमा हालसम्म मलाहा बिरालोको विस्तृत वैज्ञानिक सर्वेक्षण वा जनगणना सम्पन्न भएको छैन । तर प्रारम्भिक अनुमान अनुसार देशभर ५ सय वटासम्म मलाहा बिरालो रहेको अनुमान गरिएको छ । 

नेपालमा सुनसरीदेखि कञ्चनपुरसम्म यसको उपस्थितिको अभिलेख छ, भने संरक्षित क्षेत्रहरूमध्ये कोशी टप्पु वन्यजन्तु आरक्षमा २०, चितवनमा ९ देखि २५ वटासम्म सुक्लाफा“टमा ९ वटासम्म भएको तथ्याङ्क छ । त्यस्तै  पर्सा  र बर्दिया राष्ट्रिय निकुञ्जहरूमा यसको उपस्थित रहेको बताइएको छ ।

यसका अतिरिक्त, बारा, कपिलवस्तु र सुनसरीका माछापोखरी क्षेत्रहरूमा पनि मलाहा बिरालोको उपस्थिति देखिएको छ । 

मिश्रका अनुसार तराई क्षेत्रमा माछा पोखरी निर्माण बढिरहेको छ, तर यस्ता क्षेत्रमा संरक्षणको दृष्टिकोण भने कमजोर छ । ‘संरक्षण रणनीति नअपनाए यो प्रजाति नेपालबाट लोप हुने खतरामा छ’ उनले भनिन् । 

मलाहा विरोलो नेपाल बाहेक भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, कम्बोडिया, थाइल्याण्ड, म्यानमारसहित आठ देशमा पाइएको छ ।

View : 769

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved