Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बर्जुका ६ विद्यार्थीलाई ‘धनगंगा छात्रवृत्ति’ प्रदान

उद्‌घोष संवाददाता
२२ माघ २०८२, बिहिवार

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकास्थित भीमनगरमा रहेको श्रीराम सीता माध्यमिक विद्यालयका ६ जना जेहेन्दार विद्यार्थीहरूलाई ‘धनगंगा छात्रवृत्ति’ पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको छ ।

२०८१ सालको एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याएर उत्तीर्ण भई सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप सो छात्रवृत्ति प्रदान गरिएको हो ।

प्रतिष्ठानले रोशनकुमार शाह, सन्दिप चौधरी, सुरज चौधरी, गरिमाकुमारी मण्डल, लक्ष्मीकुमारी यादव र रञ्जना रायलाई छात्रवृत्ति प्रदान गरेको छ ।

धनगंगा छात्रवृत्ति प्रतिष्ठानका संयोजक नारायणप्रसाद श्रेष्ठका अनुसार २०७६ सालमा जनही ५ हजार नगदबाट सुरु भएको सो छात्रवृत्ति राशि यस वर्ष ८ हजार रुपैयाँ पुर्‍याइएको छ । आर्थिक रूपमा कमजोर तर अध्ययनमा उत्कृष्ट विद्यार्थीलाई थप हौसला मिलोस् भन्ने उद्देश्यले छात्रवृत्ति प्रदान गरिँदै आएको श्रेष्ठले बताए ।

प्रतिष्ठानका संयोजक श्रेष्ठको अध्यक्षतामा मंगलबार सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार यादव, प्रधानाध्यापक सूर्यनारायण मेहेता, निवर्तमान वडाध्यक्ष आनन्द यादवलगायतका वक्ताहरूले विद्यालयको शैक्षिक अवस्था र प्रतिष्ठानले पुर्‍याउँदै आएको योगदानको चर्चा गरेका थिए ।

प्रधानाध्यापक मेहेताले यस्ता प्रोत्साहनले सामुदायिक विद्यालयका विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना र मेहनत गर्ने बानीको विकास हुने विश्वास व्यक्त गरे ।

View : 449

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved