Biratnagar, Morang, Nepal
१७ माघ २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

उपयोगको पर्खाइमा लोमान्थाङको तातोपानी कुण्ड

उद्‌घोष सम्वाददाता
१२ कार्तिक २०८१, सोमवार

Advertisement

म्याग्दी, १२ कात्तिक । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ ।

अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले खेर गइरहेको तातोपानीलाई पर्यटकीय गन्तव्य बनाउने र उपयोगमा ल्याउन पहल थालिएको बताए । 

“लोमान्थाङको नजिकै भएर पनि ओझेलमा परेको तातोपानीको मुहानलाई व्यवस्थापन गर्न चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेका छौँ”, उनले भने, “तातोपानीलाई व्यवस्थित रुपमा उपभोग गर्न सक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने सम्भावना छ ।”

लोमान्थाङ खोलाको किनारमा रहेको तातोपानीलाई पोखरीमा सङ्कलन गरेर स्नानको गर्ने व्यवस्था मिलाउने तयारी गरेको अध्यक्ष गुरुङले बताए ।

चिसो हावापानी र मौसम हुने लोमान्थाङमा रहेको तातोपानीको मुहन प्रकृतिको वरदान हो ।

खोलाको किनारमा जमिनभित्रबाट करिब ५० डिग्री सेल्सियस तातोपानी निस्कन्छ । 

लोमान्थाङ–सुर्खाङ पदमार्गमा पर्ने तातोपानी कुण्ड नजिकैसम्म सडक पुगेको छ ।

बेनी–जोमसोम–कोरला सडक निर्माण भएपछि विकल्पमा पुराना घोरेटो बाटोलाई स्तरोन्नति गरेर पर्यटक हिँडाउन थालिएको हो । 

कुण्डको नजिकै आश्रयस्थल र स्नान गर्ने ठाउँ पनि छ ।

जमिनभित्रबाट भुक्लुक भुक्लुक गरेर तातोपानी निस्कने गर्छ ।

स्थानीयवासी भने तातोपानी नुहाउनका लागि जाने गर्छन् ।  

पोखरीको पानीलाई भाडामा राखेर शरिरमा राख्दै नुहाउने गर्छन् । 

व्यवस्थित र प्रचारप्रसार नभएकाले लोमान्थाङ आउने पर्यटक कुण्डसम्म पुग्न नसकेका लोमान्थाङका वडाध्यक्ष ढुढुके विष्टले बताए ।

कुण्डलाई व्यवस्थित गरेर लोमान्थाङ घुम्न आउने पर्यटकको बसाई लम्बाउने प्रयासमा रहेको उनले बताए । 

लोमान्थाङदेखि ३० मिनेट पैदलयात्रा गरेपछि तातोपानीको मुहानमा पुगिन्छ ।

स्थानीयका अनुसार तातोपानी कुण्डमा स्नान गर्दा हाडजोर्नी तथा छालासम्बन्धी रोग निको हुन्छन् ।

तातोपानीमा स्नान गरेपछि थकान मेटाउन र शारीरिक स्फूर्ति हुन्छ । 

विशाल फाँटको बीच भागमा माटोको पर्खालले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको बस्ति हो ।

वरपर सुक्खा कलात्मक पहाडको बीच भागमा रहेको लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको यो ठाउँ समुद्री सतहदेखि तीन हजार सात सय २० मिटरको उचाइमा छ । 

समथर खेतीयोग्य फाँटको बीचमा बसेको लोमान्थाङ वरपरको भूगोल मनमोहक र आकर्षक छ । फाँटको फेदीमा तातोपानीको मुहान रहेको छ ।

माटोको पर्खालभित्र रहेको ऐतिहासिक बस्ती, दरबार र गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको आकर्षण भएको लोमान्थाङ गाउँपालिका–५ का वडासदस्य लाक्पा वाङदी गुरुङले बताए ।

अर्धनिषेधित क्षेत्रमा पर्ने उपल्लो मुस्ताङमा वार्षिक तीन हजार जनाको अनुपातमा विदेशी पर्यटक आउँछन् ।

त्यहाँ हिजोआज भने नेपाली पर्यटकको चहलपहल छ । रासस

View : 90

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved