Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

काँकडभिट्टा नाकामा दुई बंगलादेशी पक्राउ

उद्घोष सम्वाददाता
२९ कार्तिक २०८१, बिहिवार

झापा । बंगलादेशबाट बिना कागजात नेपाल आएका दुई जना झापाको काँकडभिट्टा नाकामा पक्राउ परेका छन् । भारतीय सीमामा रहेको मेची नदी पार गरेर नेपाल अँएका दुई युवकलाई बुधबार सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

बंगलादेशको राजनीतिक उथलपुथलपछि बनेको नयाँ सरकारले युवा बेरोजगारलाई सम्बोधन गरिरहेका बेला दुई युवा भागेर नेपाल आएका हुन् । उनीहरु मेची नदीमा पानी तरेर नेपाल छिर्दै गर्दा पक्राउ परेका छन् । 
सशस्त्र प्रहरी नायव उपरीक्षक महेशराज विष्टका अनुसार नदी तरेर नेपाल छिरेका दुई युवालाई शंका लागेर नियन्त्रणमा लिएपछि उनीहरु वंगलादेशी भएको खुलेको छ ।

पक्राउ पर्नेमा २२ वर्षीय अब्दुल रहमान र २५ वर्षीय रियाद हुसेन छन् । उनीहरुले आफूहरु वंगलादेशी बताएपछि साथमा कुनै पनि प्रमाण खुल्ने कागजात छैन ।

काँकडभिट्टा नाकाबाट केही किलोमिटर दक्षिणबाट उनीहरुलाई बोर्डर आउट पोष्ट सतीघट्टाका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर उनीहरुका झोला तलासी गरेका थिए । उनीहरुको साथमा परिचय खुल्ने परिचयपत्र नपाइए पनि अध्यागमन कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

दुबैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर सोधपुछ भई रहेको प्रहरीले जनाएको छ । अध्यागमन कार्यालय काँकडभिट्टाका निमित्त कार्यालय प्रमुख इन्द्र राजवंशीका अनुसार दुई युवालाई बिहीबार कारवाहीका लागि अध्यागमन बिभाग काठमाडौ पठाउने तयारी गरिएको छ । 

‘वंगलादेशी हौं भन्छन्, कुनैपनि प्रमाण छैन यस बारे विभागलाई जानकारी गराएरै काठमाडौ पठाउने तयारी गरिएको छ’ राजवंशीले भने ।

पक्राउ परेका दुई युवाले कामको खोजीमा काठमाडौ हिँडेको बताएका छन् । भारतको पानीटंकी नाकाबाट नेपाल प्रवेश गर्ने मुख्य बाटो हुँदाहुँदै उनीहरु नाकाबाट पर नदी तरेर नेपाल छिरेको पाइएपछि सुरक्षा निकायले अन्य कुनै कारण हुन सक्ने अनुमान लगाएको छ । 

वंगलादेशमा नयाँ सरकार बनेपछि युवाहरु देशप्रेमको अभियान चलाई रहेका बेला त्यहाँका युवाले रोजगारीको खोजीमा नेपाल हिंडेको बताउँदा अर्थपूर्ण रुपमा हेरिएको छ ।

View : 44

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved