Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

मोरङका १७ पालिकामा एमालेले ३/३ प्रशिक्षक तयार पार्ने

उद्‌घोष सम्वाददाता
१ कार्तिक २०८०, बुधवार

विराटनगर : नेकपा एमाले मोरङले जिल्लाका १७ वटै पालिकामा ३/३ जना प्रशिक्षक तयार पार्ने भएको छ । मंगलबार बसेको जिल्ला कमिटीको नवौं पूर्ण बैठकले त्यसका लागि प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गर्ने निर्णय गरेको हो । 

जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोखरेलले मोरङका हरेक पालिकाबाट ३/३ जनाका दरले सहभागी गराएर प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गर्ने र उनीहरूलाई पार्टीको प्रशिक्षकका रुपमा सम्बन्धित पालिकामा जिम्मेवारी दिएर खटाइने जानकारी दिए ।

प्रशिक्षक तयार पार्न पार्टीको केन्द्रीय प्रशिक्षण विभागमार्फत दुईवटा प्रशिक्षण सञ्चालन गर्ने जनाइएको छ । वर्तमान अवस्थामा राष्ट्रिय राजनीति र एमालेको कार्यदिशा विषयमा पहिलो प्रशिक्षण चलाउने र त्यसपछि पालिकास्तरमा प्रशिक्षक निर्माण गर्ने गरी तालिम सञ्चालन गर्ने जनाइएको छ । एमाले महासचिव शंकर पोखरेल वा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको उपस्थितिमा प्रशिक्षण आयोजना गर्ने अध्यक्ष पोखरेलले जानकारी दिए ।

जिल्ला कमिटीको बैठकले आगामी मंसिर मसान्तभिक्र जनताको बहुदलीय जनवादको आँखाबाट मोरङ जिल्लाको सम्मृद्धिको न्यूनतम् कार्यत्रम तयार पार्ने समेत निर्णय गरेको जनाइएको छ । मंसिरभित्रै पालिका र वडा कमिटीहरूको व्यवस्थापन गरिसक्ने र छुट भएका पार्टी सदस्यहरूको नवीकरण गर्ने समय तालिका तय भएको अध्यक्ष पोखरेलले बताए । 

साथै विजयादशमी, दिपावली र छठ लगायतका विभिन्न चाडपर्वहरूको अवसरमा आगामी कात्तिक २५ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा एमाले मोरङको पार्टी कार्यालय पाञ्चालीमा बृहत शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने समेत बैठकले निर्णय गरेको जनाइएको छ ।

जिल्ला कमिटीले भर्खरै सम्पन्न एमाले कोशी प्रदेश कमिटीको निर्वाचनमा मोरङको भुगोलबाट निर्वाचित भएका अध्यक्षसहित सदस्यहरूलाई सम्मान समेत गरेको जनाइएको छ ।

View : 199

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved