विराटनगर । विराटनगरको पहिचान बनिसकेको ऐतिहासिक राधाकृष्ण रथयात्रा आज निकालिंदैछ । ९३ औं संस्करणको राधाकृष्ण रथयात्रा विराटनगर २ तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट अपरान्ह ३ बजेदेखि सुरु हुने जनाइएको छ ।
राधाकृष्णको युगल जोडीलाई रथको अग्रभागमा राखेर हजारौं भक्तजनले रथ तानेर विराटनगरको ९ किलोमिटर रथयात्रा गर्नेछन् । रथयात्रामा श्रद्धालुहरुको उल्लासपुर्वक सहभागीता हुँदै आएको छ । यो वर्ष करीव सात लाखले रथयात्राको अवलोकन गर्ने आयोजक समितिले जनाएको छ ।
वि.स. १९८८ मा खटयात्राबाट सुरु भएर २०२४ सालदेखि रथयात्रा निकाल्न थालिएको यो अनुष्ठानको समग्रमा ९३ औं संस्करण हो भने रथयात्राको ५६ औं संस्करण हो ।
हजारौं श्रद्धालु सहभागी बन्ने रथयात्राको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।
रथयात्रा ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुनेछ ।
रथयात्राका क्रममा आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइन्छ । हिन्दू धर्मावलम्बीहरुले विशेष रुपमा मनाउने र उल्लास प्रकट गर्ने विराटनगरको रथयात्रामा अन्य धर्मावलम्बीहरुको पनि उत्तिकै सहभागिता हुने गरेको छ ।
अत्यधिक जनसहभागिता हुने रथयात्रालाई लक्षित गरेर विराटनगरका विभिन्न स्थानमा खानेपानीको प्रबन्ध भएको छ भने सुरक्षा व्यवस्था पनि कडा तुल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिने जानकारी दिएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले दिएको जानकारी अनुसार राधाकृष्ण रथयात्रालाई लक्षित गरेर सर्वसाधारणलाई सुरक्षित रुपमा सहभागी हुन आह्वान गरेका छन् ।
ठूलो संख्यामा श्रद्धालु भक्तजनको उपस्थिति हुने र उक्त समारोहमा हुने भिडभाडको फाईदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारी लगायतका अवाञ्छित गतिविधि हुनसक्ने जनाएको छ ।
यस्तै रथयात्राका क्रममा भागदौड मच्चिई मानवीय दुर्घटना हुनसक्ने, बालबच्चाहरू हराउन सक्ने, बृद्ध बृद्धाहरू घाईते हुनसक्ने जोखिम रहेको भन्दै प्रहरीले सजग रहन पनि सार्वजनिक अपिल गरेको छ ।
प्रहरीले प्रभावकारी सुरक्षा व्यवस्थाको लागि भन्दै बहुमूल्य गरगहनाहरू नलगाउन, नगद र बहुमूल्य सामाग्रीहरू साथमा नल्याउन, रथयात्राको मार्ग समारोहस्थल वरपर सवारी साधन पार्किङ नगर्न आग्रह गरेको छ ।
विराटनगरको रथयात्रामा मोरङ र सुनसरीका विभिन्न स्थानीय तहबाट श्रद्धालुहरु सहभागी हुने भए पनि कोशी प्रदेश सरकारले भने प्रदेशका १४ वटै जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
View : 293
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved