मिलन चोकमा आइतबार राति १० बजे सडक अवरोध खुलाउँदै प्रहरी । तस्वीर: कमल/उद्घोष
विराटनगर । मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै सडकमा सुतेका एक युवकका कारण भएको दुर्घटनाले विराटनगर–१९ मिलन चोकमा आइतबार राति सडक जाम गराएको छ । स्थानीय १८ वर्षीय देवआशिष कट्टेलले मदिरा सेवन गरेपछि सडकमै कपडा खोलेर तमासा देखाउने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।
कट्टेलले उपद्रो मच्चाएको खबर पाएपछि उनकी आमा छोरालाई फकाउन सडकमा आएकी थिइन् । आमाको प्रयास बिफल भएपछि सडकमा सुतेका कट्टेललाई कारले किचेको थियो ।
प्रहरीका अनुसार प्रदेश १–०४००१ च ७०७३ नम्बरको कारले कट्टेललाई किच्ने बित्तिकै प्रहरीले कारलाई नियन्त्रणमा लिएर घाइतेको उद्धार गरेको थियो ।
सो क्रममा प्रहरीले दुर्घटना गराउने कारमै घाइतेलाई नोबेल अस्पताल लगेपछि स्थानीयले त्यसको बिरोधमा सडक जाम गरेका हुन् । राति ९ बजे सडकमा टायर बालेर अवरोध गर्दै स्थानीयले डेड घण्टा सवारी आवागमन ठप्प पारेका थिए ।
सो क्रममा दुर्घटना गराएको कार प्रहरीले भगाएको र महानगरको कर चौकीले पनि कारलाई नरोकेको जनाउँदै स्थानीयले सडक अवरोध गरेका थिए । स्थानीयले कर चौकीमा तोडफोड गर्नुका साथै बिल बिजक जलाएका थिए । प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठ नेतृत्वको थप सुरक्षाकर्मी टोली पुगेर सडक अवरोध खुलाएको थियो ।
दुर्घटनापछि फ्रहरीलाई आक्रमण गर्न खोजिएको थियो । सडक अवरोधमा संलग्न युवाहरुले सो त्रममा महिलालाई पनि दुर्ब्यवहार गरेको बताइएको छ । स्थानीय एक युवतीले सडक अवरोधमा आएको समूहले आफूलाई हातपात गरेको जिल्ला प्रहरी कार्यालयमा फोन गरेर जानकारी गराएको बताइन् । करचौकी तोडफोड र बिल बिजक लुट्नेको पहिचान भएको प्रहरीको भनाइ छ ।
गत वर्षपनि सोही ठाउँमा सवारी दुर्घटना भएपछि स्थानीयले ट्रिपरमा आगजनी गरेका थिए । सो क्रममा प्रहरीले वल प्रयोग गरेको थियो । घाइते कट्टेलको अवस्था सामान्य हुँदै गएको प्रहरीले बताएको छ । घाइते कट्टेलका बाबुले गत वर्ष आत्महत्या गरेपछि घरमा आमा र अपाङ्गता भएका भाइ मात्रै छन् ।
View : 294
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved