Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कृषि एक्स्पोमा कृषि संवाद

निजी क्षेत्रको सहभागितामा मात्र कृषि व्यावसायिकता बढ्नेमा जोड

सरकारको समन्वय, लगानी सुनिश्चिताको माग
उद्घोष सम्वाददाता
२९ भदौ २०८१, शनिवार

विराटनगर । कोसी प्रदेशमा कृषिको व्यावसायिकताका लागि निजी क्षेत्रको लगानी प्रवर्द्धन र सरकारी सहयोगमा जोड दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजनामा मोरङको कटहरीस्थित कृषि थोक बजार केन्द्रमा जारी कृषि एक्स्पोका अवसरमा आयोजित कृषि अन्तर संवादका सहभागीहरूले सरकारी समन्वयका आधारमा निजी क्षेत्रले लगानी सुनिश्चित गर्दै जानुपर्ने बताएका हुन् । 

कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले कृषिको व्यवसायिकरण लामो समयदेखि चल्ने गरे पनि उपलब्धि भने आयातमुखी अवस्थामा रहेको बताए । 
मन्त्री मगरले साना जमिनमा कृषिबाली लगाउने किसानले उत्पादन गरेको बस्तुलाई ठूला कृषि उद्योग संचालन गरी प्रशोधन गरी निर्यात गर्न सकिने बताए । 

‘निजी क्षेत्रले चिया उद्योग खोलेजस्तै अन्य आयमूलक उत्पादन निर्यात गर्ने उद्देश्यसहित लगानी बढाउनु पर्छ, यसका लागि सरकारले गर्ने सहयोग हुन्छ’ मन्त्री मगरले भने, ‘त्यसका लागि साना किसानकै मोडल उपयुक्त हुन्छ, किनभने उद्योगीले धेरै जग्गा खरिद गरेर कृषिजन्य उद्यम संचालन गर्न कठिन छ, किसानले उत्पादन गर्ने र उद्योगले खरिद गर्ने तरिका नै उचित हो ।’

नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाका अध्यक्ष रामचन्द्र उप्रेतीले निर्वाहमुखी कृषिबाट अलिक माथि उठेर उत्पादन बढाउनुको विकल्प नभएको सुनाए । 

‘पहिले धेरै किसान हुनुहुन्थ्यो, उत्पादक थियौं तर अहिले सहर केन्द्रित बसाइ बढ्न थालेपछी धेरै उपभोक्ता थपिनु भएको छ’ उनले भने– ‘उपभोक्ताले चाहेको र मौसमी उत्पादनलाई गुणस्तर कायम गरियो भने प्रतिफल प्राप्त हुन्छ ।’ 

उनले बजार र सप्लाइ चेन मिलाउने प्रबन्ध सरकारले गर्नुपर्ने सुझाव दिए । दूधजन्य बस्तु, तरकारी, मासु माछा उत्पादनलाई केन्द्रित गरी कोशी प्रदेशमा प्रशस्तै उत्पादन बढाउनले र लाभ लिने ठाउँ रहेको उप्रेतीको भनाइ थियो । 

तरकारी उत्पादन सहकारी संस्था चितवनका संचालक खोजराज कटुवालले कोशी प्रदेश कृषि उपज धेरै निर्यात गर्ने प्रदेश भएको बताउँदै कृषिको आधुनिकीकरणका निम्ति कृषि औजार तथा प्रविधि प्रयोग बढाउनु पर्ने सुझाव दिए । 

‘इजरायलमा मल्चिङ र थोपा सिंचाई प्रणाली विकास भएको ५५ वर्षपछि हामी बल्ल प्रयोगको शुरुवाती चरणमा छौं’ इजरायलको अनुभव सुनाउँदै कटुवालले भने, ‘अब आधुनिक ढंगले अघि नबढी सुखै छैन् ।’ 

मोरङको आरजू राईस मिलका विज्ञ डा. विवेकानन्द झाले आफूहरुले बजारमा माग रहेको धान उत्पादन गर्ने किसानको आम्दानी बढाउन समर्थन मूल्य तोक्ने, उत्पादन र कटानमा समेत सहयोग गर्दै आएको बताए । 

उनले बजारको माग बुझेर उत्पादनमा जोड दिने हो भने धान किसानले प्रशस्तै फाइदा लिन सक्ने बताए । 

‘तर माग एउटा छ उत्पादन अर्को गर्यो भने त्यसबाट प्रतिफल प्राप्त हुँदैन’ उनले भने । झाले स्थानीय तहका कृषि शाखाहरुले किसानलाई अधिक सेवा दिन जरुरी रहेको सुझाव दिए । 
तरकारी उत्पादक सहकारी संस्था धनकुटाका संचालक मेगेन्द्र गुरुङले कोशी प्रदेशबाट ठूलो परिमाणमा बन्दाकोबी सहितका तरकारी भारतीय बजार निर्यात हुने गरेको दृष्टान्त पेश गरे । अब निर्यातको परिमाण बढाउन संघीय र प्रदेश सरकारले भूमिका खेल्नुपर्ने बताए । 

‘नीतिगत र कानुन जटिलता तथा भारतसँगको समन्वयको अभावमा अहिले पनि नमूना परीक्षण गर्न कलकत्ता पठाउनु पर्ने बाध्यता छ’ उनले भने, ‘सहज ढंगको परीक्षणको व्यवस्था भए कोशीमा उत्पादित तरकारीजन्य कृषि उपज भारतका धेरै बजारसम्म पुर्‍याउन सकिन्छ ।’

गुरुङले बीउबीजन र मलखादको सहज उपलब्धता तथा किसानलाई प्राविधिक ज्ञानसीपको प्रबन्ध सरकारबाट हुनपर्ने सुझाव दिए । उनले बजारीकरणका लागि मन्डी तथा कृषि थोक केन्द्र निर्माणमा समेत सरकारले गतिशील भएर काम गर्नुपर्ने सुझाव दिए । 

इलामकी महिला उद्यमी लीलादेवी भट्टराईले सहकारीमार्फत महिला जोडिएर गरिएका कृषि उद्यमको प्रवर्द्धनमा सरकारले अधिक चासो दिनुपर्ने बताइन् । कार्यक्रममा धानविज्ञ डा. राजेन्द्र उप्रेतीले सहजीकरण गरेका थिए । 

कोशी प्रदेशकै पहिलो कृषि एक्स्पो आइतबारसम्म चल्नेछ । एक्स्पोमा कृषि विज्ञ, किसान, उद्यमी र लगानीकर्ता समेत राखेर शुक्रबारबाट निरन्तर कृषि अन्तरसंवाद शुरु गरिएको हो ।

View : 176

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved