विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर ८ का तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिएको छ । महिला तथा किशोरीहरूमाथि हुनसक्ने हिंसा तथा आक्रमणबाट बच्नका लागि उनीहरूलाई विद्यालय स्तरीय आत्मरक्षा तालिम दिइएको हो ।
वडा नम्बर ८ वडा समितिको कार्यालयको सहयोगमा सामूहिक उत्थान नेपालको आयोजनामा महेन्द्र माध्यमिक विद्यालयमा तालिम सम्पन्न गरिएको संस्थाकी अध्यक्ष कल्याणी खड्गीले जानकारी दिइन् । अहिले सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयमा तालिम भइरहेको उनले बताइन् ।
प्रत्येक विद्यालयमा कक्षा ६ भन्दा माथि अध्ययनरत छात्राहरूलाई १० दिनको तालिम दिइने उनले बताइन् ।
दुईवटा विद्यालयमा तालिम सकिएपछि विराटनगर–८ स्थित मुस्मिल समुदायका विद्यार्थीहरूले अध्ययन गर्ने मदर्शा तालिमुल कुरान माध्यमिक विद्यालयमा तालिम आयोजना हुने जनाइएको छ । त्यसका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष खड्गीले बताइन् ।
तालिमको उद्घाटन गत बैशाख १७ गते गरिएको हो । तालिमको सहजीकरण जुडो प्रशिक्षक सुजता बस्नेतले गरेकी हुन् । तालिममा सहभागी हुने किशोरीहरूलाई भौतिक आक्रमण भएको अवस्थामा अपनाउनुपर्ने प्रतिकारात्मक शीपहरू सिकाइने प्रशिक्षक बस्नेतले बताइन् ।
संस्थाले महिला, बालिका तथा छोरीहरूको सुरक्षाका लागि केही काम गर्नुपर्छ भन्ने मान्यता राखेर वडा कार्यालयको सहयोगमा आत्मरक्षा सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष खड्गीले बताइन् ।
महेन्द्र माध्यमिक विद्यालयका ३० जनालाई तालिम प्रदान गरिएको छ । त्यसैगरी सुशिक्षामा ४० जनालाई तालिम दिइरहेको उनले जानकारी दिइन् । अन्तिममा मदर्शा तालिमुल कुरान माविका करीव २० जना छात्राहरूलाई तालिम प्राप्त गरी लाभान्वित हुने जनाइएको छ ।
संस्थाले गत वर्ष विराटनगर–६ मा समेत किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरेको थियो ।
View : 344
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved