विराटनगर । अपहरण गरी बन्धक बनाएको मुद्दामा जिल्ला अदालतबाट पुर्पक्षको आदेश भएका नेपाल टाइम्सका संस्थापक तथा सञ्चालक अब्दुल खताब भनिने शाहन्शाह सिद्दिकीको आज बिहीबार सुनवाइ तोकिएको छ । जिल्लाको आदेशविरुद्ध पुनरावेदनका गर्दै उच्च अदालत पुगेका सिद्दिकीले पटक–पटक सुनवाइ रोकिएर मुद्दा खेपेको १५ महिना पुगेको छ ।
उनी उद्योगी अरुणकुमार राठीलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा पक्राउ परी जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षका लागि कारागार चलान भएका थिए । उनी कारागार चलान भएको १५ महिना पुग्न लागेको छ ।
जिल्ला अदालतबाट उनको मुद्दाको अन्तिम फैसला अहिलेसम्म भएको छैन । उच्चमा भने सुरु अदालतको आदेशविरुद्ध उनले दिएको पुनरावेदनउपरको सुनवाइ पटक–पटक रोकिदै आएको छ । जिल्ला आदेशविरुद्ध उच्च अदालतमा ७३ नम्बर निवेदन दिएकोमा अहिलेसम्म सुनवाइ नभएको हो । उच्चमा ७३ नम्बरको निवेदनउपर हरेक बिहीबारमात्र सुनावाइ हुने गरेको छ ।
अधिकारकर्मी बसन्त अधिकारीका अनुसार जाहेरवाला अरुणकुमार राठीको जाहेरीमा सिद्दिकी गत वर्ष २०७९ मंसिर २९ गते पक्राउ परेका हुन् । राठीले उनलाई अपहरण गरी बन्धक बनाएको अभियोग लगाएका छन् ।
राठीले गत वर्ष २०७९ मंसिर १४ गते सिद्दिकीले आफूलाई अपहरण गरेको, बन्धक बनाएको र कुटपिट गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय मोरङका दिएका थिए । आफूमाथि जाहेरी परेपछि सिद्दकी सोही महिनाको मंसिर २९ गते आफै जिल्ला प्रहरी कार्यालय उपस्थित भएका थिए ।
उनीउपर चलेको शरीर बन्धक तथा अपहरण मुद्दामा पुस २८ गते जिल्ला अदालत मोरङबाट फैसला भई उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए । सोही मुद्दामा पक्राउ परेका उनका ड्राइभर जयकुमार राम भने १ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
राठीले आरोप लगाएको जस्तो कसुर आफूले नगरेको बताउने सिद्दीकी दुई साझेदारबीच भएको आपसी मतभेदको कारण आफू कारागारमा बस्नुपरेको बताउने गरेको अधिकारकर्मी बसन्त अधिकारीको भनाइ छ । अधिकारी न्याय दिनमा गरिएको ढिलाइ पनि अन्याय हुने भएकाले आदेश फैसला जे हो समयमै हुनुपर्ने राय व्यक्त गर्छन् ।
View : 355
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved