प्रदेश प्रमुखलाई मर्यादा सम्झाउँदै मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गलाई मर्यादा सम्झाउने प्रयन्त गरेका छन् ।
उनले कोशी प्रदेश सभाबाट बैशाख ७ मा पारित भएको संकल्प प्रस्तावको निर्देशन अनुसार आफूले विश्वासको मत लिनु नपर्ने र मार्ग प्रसस्त पनि गर्नुपर्ने पुरानो अडानलाई थप बल पुर्याउन प्रदेश प्रमुख खापुङ्गलाई नै भेटेर मंगलबार लिखित रुपमा ध्यानाकर्षण गराएका हुन् ।
उनले कोशी प्रदेशमा संविधानको धारा १६८ अनुसार अहिल्यै अर्को सरकार बन्न नसक्ने जिकिर गरेका छन् । संकल्प प्रस्तावको संवैधानिक हैसियत नभएको समेत दाबी गरेका छन् ।
मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङ्गलाई तीन पाना लामो पत्र बुझाउदै प्रदेशसभा वा प्रदेशका अन्य निकायबाट प्रदेश प्रमुखलाई निर्देशन आदेश वा सूचना प्रवाह गरी सक्रियता अपेक्षा गर्नु गैरसंवैधानिक भएको उल्लेख गरेका छन् । उनले संविधानको व्याख्याको प्रयत्नले संविधानको अस्तित्वमाथि नै कुठाराघात हुने दाबी गरेका छन् ।
‘भविष्यमा संविधानको दुरुपयोगका लागि यस्ता कार्यलाई प्रोत्साहन गरिएको हुन जान्छ’ भन्दै प्रदेश प्रमुखको कार्यक्षमतामाथि समेत प्रश्न उठाएका छन् ।
उनले मुख्यमन्त्रीको पद संवैधानिक तवरबाट रिक्त नभएसम्म अर्को मुख्यमन्त्रीको चयन हुन नसक्ने जिकिर गर्दै प्रदेश प्रमुखको संवैधानिक सीमाभित्रै पसेर दवाव दिने प्रयास गरेका हुन् ।
भविष्यमा प्रदेश प्रमुखबाट संविधानको दुरुपयोग हुनसक्ने भन्दै उनले घुमाउरो गरी चेतावनी दिएका हुन् ।
‘संविधानको व्याख्याको प्रयत्नले संविधानको अस्तित्वमाथि नै कुठाराघात हुन जान्छ, अतः प्रदेश सभाको कार्यको सूचना प्रवाह गर्ने कार्यको कानुनी अर्थ नरहेको अनुरोध छ’ मुख्यमन्त्रीको पत्रमा भनिएको छ, ‘भविष्यमा संविधानको दुरुपयोगका लागि यस्ता कार्यलाई प्रोत्साहन गरिएको हुन जान्छ, आजसम्म विश्वको कुनै पनि प्रजातान्त्रिक मुलुकमा यस्तो संकल्प प्रस्तावको माध्यमबाट सरकार परिवर्तनका लागि प्रयत्न गरिएको पाइँदैन ।’
त्यसैगरी संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूले विश्वासको मत लिनुपर्ने व्यवस्थामा भने मुख्यमन्त्री कार्की मौन बसेका छन् । बरु संविधानले नै दुई वर्षसम्म बन्देज गरेको अविश्वासको प्रस्ताव ल्याउन सकिने व्यवस्थाप्रति प्रदेश प्रमुखलाई असान्दर्भिक रुपमा ध्यानाकर्षण गराएका छन् ।
मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा (१), (२) र (३) बमोजिम सरकार असफल भएपश्चात् संविधानको धारा १६८ (५) अनुरूप कुनै प्रदेशसभा सदस्यले आफूलाई प्रदेशसभाको बहुमत सदस्यको समर्थन रहेको स्थापित गर्न सकेको अवस्थामा त्यस्तो प्रदेशसभा सदस्यलाई मुख्यमन्क्रीमा नियुत्त गर्ने व्यवस्था रहेको समेत प्रदेश प्रमुखलाई सम्झाएका छन् ।
उक्त व्यवस्थाअनुरुप नै कोशीमा वर्तमान सरकारको निर्माण भएको तथा सरकारको निर्माणमा प्रदेशसभा सदस्यहरू व्यक्तिगत रूपमा सहभागी भएको, यस्तो सरकारको निर्माणमा दलको (हिृवप) निर्देशनसमेत नलाग्ने अवस्था रहेको उनले उल्लेख गरेका छन् ।
२०८० असोज २७ मा मुख्यमन्क्रीमा नियुत्त भएका कार्कीले २०८० कात्तिक १ मा कोशी प्रदेश सभाको ९३ सदस्यीय प्रदेश सभामा ८६ सदस्यको विश्वासको मत प्राप्त गरेको दाबी गरेका छन् । सोही कारण आफूले अब पुनः विश्वासको मत लिनु नपर्ने तर्क गर्दै संविधानको धारा १८८ (२) प्रति मुख्यमन्त्री कार्कीले आँखा चिम्लिने प्रयास गरेका हुन् ।
प्रदेश प्रमुखलाई बुझाएको पत्रमा उनले संविधानमै त्रुटि रहेको भन्दै संविधानको आफूअनुकूल व्याख्या पनि गरेका छन् ।
View : 231
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved