विराटनगर । विराटनगरको कोचाखालस्थित विराट बहिरा माध्यमिक विद्यालयमा सुरक्षित र सहज खानेपानी उपलब्ध गराउने उद्देश्यले नेपाल एसबीआई बैंकले डिप बोरिङ निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालय परिसरमा डिप बोरिङ निर्माणार्थ दुई लाख पचास हजार रुपैया“को चेक हस्तान्तरण गरेको हो । सो चेक हस्तान्तरण कार्यक्रम सोमबार विराट बहिरा मावि परिसरमा सम्पन्न भयो ।
नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकुमार तिवारी ले विद्यालयका प्रधानाध्यापक मिनु अधिकारी र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मीना जोशीलाई संयुक्त रूपमा चेक हस्तान्तरण गरेका थिए ।
सो अवसरमा बोल्दै सीईओ तिवारीले विराट बहिरा माविलाई सहयोग गर्न पाएकोमा गौरवान्वित भएको बताउँदै बैंकले गरेको सहयोग सदुपयोग हुनेमा विश्वस्त रहेको बताए ।
विद्यालयका प्रधानाध्यापक मिनु अधिकारीले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै निजी क्षेत्रबाट शिक्षा र आधारभूत सेवामा गरिएको योगदानले सामाजिक विकासमा ठूलो टेवा पुग्ने बताइन् ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मीना जोशीले आगामी दिनमा पनि बैंकबाट यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर रूपमा सञ्चालन हुने विश्वास व्यक्त गर्दै अन्य संघसंस्थालाई पनि यस प्रकारका सामाजिक कार्यमा हातेमालो गर्न आग्रह गरिन् ।
सो विद्यालयमा लामो समयदेखि पर्याप्त खानेपानीको अभावका कारण पठनपाठन, छात्रावासमा बसेका विद्यार्थीलाई खान तथा सरसफाइमा समस्या हुँदै आएको थियो । विद्यालय प्रशासनले बैंकको यो सहयोगले विद्यालयमा दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरेको छ ।
विद्यालयका शिक्षक दीपक पोखरेलका अनुसार, डिप बोरिङ निर्माणले शैक्षिक वातावरण थप अनुकूल हुने र विद्यार्थीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बैंकका तर्फबाट डेपुटी सीईओ विकास आनन्द, सीएफओ राजेशकुमार पण्डा, पीसीओ विष्णुदेव यादव, सीबीडीओ प्रविनमुनि बज्रचार्य, सीसीओ रोशन कोइराला, कोशी प्रदेश प्रमुख श्रीधर अधिकारी, व्यवस्थापक सुदीप अर्याल लगायतको उपस्थिति थियो ।
यस्तै, विद्यालय व्यवस्थापन समितिका सदस्य तारानाथ भट्टराई, तुलसीराम श्रेष्ठ, शिक्षक डिल्लीराम तिम्सिना, शिक्षक, विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थियो ।
View : 513
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved