Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सुनको भन्सार दर १० प्रतिशतले घटाएकोमा उद्योगी व्यवसायी खुसी

सरकारले सुनको आयातमा लाग्ने भन्सार दर घटाएका कारण सोमबारदेखि नेपाली बजारमा सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रूपैयाँले घटेको हो । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २ सय रूपैयाँ कायम थियो ।
उद्‌घोष सम्वाददाता
११ मंसिर २०८१, मङ्गलवार

विराटनगर । सरकारले सुन आयातमा लाग्ने २० प्रतिशत भन्सार दरलाई १० प्रतिशत कायम गरेको भन्दै नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेश समितिले खुसी व्यक्त गरेको छ ।

सरकारले चालु आर्थिक बर्षको आर्थिक ऐनमा सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल बढाएको तर भारतले भने त्यस्तो महसुल घटाएका कारण सुन तस्करी बढेपछि सरकारले भन्सार दर १० प्रतिशतले घटाएको हो ।

परिसंघका कोशी प्रदेश अध्यक्ष पवन सारडाले सोमबार विज्ञप्तिमार्फत सुनको भन्सार दर घटाउने निर्णयको स्वागत गरेका हुन् । उनले परिसंघले गत असार साउनमै सरकारलाई सुनको भन्सार दर घटाउन आग्रह गरेको बताए । 

सरकारले सुनको आयातमा लाग्ने भन्सार दर घटाएका कारण सोमबारदेखि नेपाली बजारमा सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रूपैयाँले घटेको हो । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २ सय रूपैयाँ कायम थियो ।

त्यसैगरी चाँदीको पनि ५ प्रतिशत महसुल घटाएर १० प्रतिशतमा झारेका कारण सोमबार प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भएको जनाइएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९ सय ६० रूपैयाँमा कारोबार भएको थियो ।

‘परिसंघले बिगत असार साउनदेखि नै सरकारको ध्यानाकर्षण गराउँदै भन्सार दरमा परिवर्तन गर्न माग गरिएकोमा हालै सरकारले सुन आयातमा लाग्ने २० प्रतिशत भन्सार दरलाई १० प्रतिशत र चाँदीमा ५ प्रतिशत घटाएर १० प्रतिशत कायम गर्ने निर्णय गरेकोले यो निर्णयको स्वागत गर्दछ’ परिसंघ अध्यक्ष सारडाले भने ।

परिसंघका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमै एक सय ३० किलो सुन आयात भएको छ । 

विगतमा यही अवधिमा १ हजार किलो बढी सुन आयात भएको जनाइएको छ । 

सरकारले भन्सार दर बढाएका कारण सुनको बजार व्यवस्थापन, राजस्व र उपभोक्तामा समेत नकरात्मक असर परिरहेको अवस्थामा सरकारले ढिलै भएपनि भन्सार दर घटाएको उल्लेख छ ।

यसैगरी, मोरङ उद्योग व्यापार संघले समेत सुनचाँदीको भन्सार महसुल घटाउनु महत्वपूर्ण कार्य भएको बताएको छ । यो निर्णयले सुनचाँदीमा हुने गरेको अवैध कारोबार एवं अनैतिक गतिविधिहरू अन्त्य हुने विश्वास गरिएको संघले जनाएको छ । 

त्यसैगरी अनधिकृत पूँजी पलायनको खतरासमेत नियन्त्रण हुने संघको विज्ञप्तिमा उल्लेख छ ।

संघले दालको आयातमा लाग्दै आएको १० प्रतिशत अग्रिम आयकरलाई २.५ प्रतिशत कायम गरेर उपभोक्ताहरूलाई परिरहेको भार न्यूनीकरण गर्न ठुलो मद्दत पुर्याएको जनाएको छ । 

त्यसैगरी सरकारले मार्बल, ग्रेनाइड, चाँदी, सुन तथा दलहन आयात गर्दाको भन्सार महसुल, अन्तःशुल्क तथा अग्रिम आयकरका दरहरूमा समय सान्दर्भिक तवरले परिमार्जन हुनु स्वागतयोग्य भएको संघले जनाएको छ ।

मार्वल र ग्रेनाइडको भन्सार महसुल न्यूनिकरण तथा अन्तःशुल्क खारेज गर्ने सरकारको सो निर्णयले वर्षौंदेखि बन्द रहेका १७ भन्दा बढी स्वदेशी मार्वल र ग्रेनाइड उद्योगहरू पुनः सुचारू हुने बाटो खुलेको संघले जनाएको छ ।

View : 99

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved