प्रतिनिधिसभा निर्वाचन
विराटनगर । यदि २०७९ को प्रतिनिधिसभा निर्वाचनको नतिजालाई आधार मान्ने हो भने मोरङ–१ मा हुने यसपटकको चुनावी भिडन्त सबैभन्दा रोचक हुनेवाला देखिन्छ ।
त्यसबेला नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरू गठबन्धन बनाएर चुनाव लड्दा पनि कांग्रेसका डिगबहादुर लिम्बू झिनो मतान्तरले मात्रै जितेका थिए ।
त्यसबेला कांग्रेसका लिम्बूले २७ हजार २९७ मत ल्याएर जित हासिल गर्दा एमालेका घनश्याम खतिवडाले २६ हजार ८६७ मत प्राप्त गरेका थिए ।
दुई उम्मेद्वारबीचको मतान्तर ४३० मात्रै थियो । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ तेस्रो बनेको थियो । रास्वपाका कमलबहादुर श्रेष्ठले ८ हजार ६३ मत प्राप्त गरेका थिए ।
तीन दलको गठबन्धनविरुद्ध एमाले एक्लै लड्दा पनि ज्यादै थोरै मतान्तरले मात्रै पछि परेका खतिवडाले यसपटक कांग्रेसबाट नयाँ प्रतिष्पर्धी पाएका छन् ।
त्यसो त नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी लगायतका दलहरूका उम्मेदवारहरूको बलियो उपस्थिति पनि मोरङ–१ को यसपटकको नयाँ विशेषता हो । मुख्यतः यिनै दलका उम्मेदवारहरूबीचको चुनावी भिडन्तले यो क्षेत्रको प्रतिष्पर्धालाई चाखलाग्दो बनाइदिएको छ ।
अघिल्लो निर्वाचनमै उल्लेख्य मत ल्याएको रास्वपाले यसपटक अन्य दलहरूलाई कुन आकारमा चुनौती दिन्छ, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले यहाँ कस्तो चुनावी लहर ल्याउला ? यी र यस्ता थुप्रै प्रश्नहरूले मोरङ–१ को प्रतिष्पर्धालाई रोचक बनाउने सम्भावना छ । यसर्थ पनि मोरङ–१ राजनीतिक रूपमा चासोको केन्द्र बनेको छ ।
उर्लाबारी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, केराबारी गाउँपालिका र लेटाङ नगरपालिका समेटिएको यो निर्वाचन क्षेत्रमा दलका साथै स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थितिले प्रतिस्पर्धा बहुआयामिक बनेको छ ।
अघिल्लो निर्वाचनको नतिजा झिनो मतान्तरमा टुंगिएको पृष्ठभूमिले पनि चुनावी होड चाखलाग्दो हुने अनुमान गर्न सकिन्छ ।
यो क्षेत्रको साविक विजेता कांग्रेसबाट यसपटक खड्गबहादुर फागो उम्मेदवार छन् । यसअघिका विजेता कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बू यसपटक आफै प्रतिष्पर्धा गर्ने घोषणा गरेका थिए ।
तर, कांग्रेस विशेष महाधिवेशनको पक्षमा नउभिएका लिम्बूलाई विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले टिकट दिन अस्वीकार गरेको थियो । विशेष महाधिवेशनको पक्षमा खुलेर उभिएका कोशी प्रदेशका पार्टी सहमहामन्त्री फागोलाई पार्टीले दिएको टिकटको औचित्य पुष्टि गर्नुपर्ने चुनौती छ ।
एमालेबाट उम्मेदवार रहेका खतिवडा एमाले कोशी प्रदेशका अध्यक्ष हुन् । २०७४ मा यही क्षेत्रबाट जितेका उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । एमालेले यस क्षेत्रलाई आफ्नो परम्परागत प्रभाव क्षेत्रका रूपमा लिंदै संगठनात्मक शक्तिमा भरोसा गरेको देखिन्छ ।
खतिवडा स्थानीय निकायमा पनि काम गरिसकेका अनुभवी नेता हुन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीबाट कुलप्रसाद साम्बा कुशल उम्मेदवार छन् । यसअघि प्रदेशसभा सदस्य भइसकेका उनी पनि यो क्षेत्रका परिचित र स्थापित उम्मेदवार हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्र्टीबाट यज्ञमणि न्यौपाने उम्मेदवार छन् । २०७९ को निर्वाचनमा यस क्षेत्रमा रास्वपाले उल्लेख्य मत ल्याएको तथ्यले यसपटक झापाबाट आएर यो क्षेत्रमा चुनाव लडिरहेका उनी आशावादी देखिन्छन् ।
श्रम संस्कृति पार्टीबाट वामपन्थी पृष्ठभूमिकी नेतृ शान्ति पाख्रिन उम्मेदवार छिन् । हर्क साम्पाङको दलको मोरङमा सबैभन्दा राम्रो प्रभाव यही क्षेत्रमा रहेको मानिन्छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्णबहादुर वाइवा तामाङ, मंगोल नेशनल अर्गनाइजेसनबाट सुरज लिम्बु, नेपाल जनमुक्ति पार्र्टीबाट फिवराज लिम्बू, राष्ट्रिय परिवर्तन पार्टीबाट दुर्गाकुमारी तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिलकुमारी लावती, मितेरी पार्टी नेपालबाट डिल्लीराम लिम्बू, नेपाल कम्युनिष्ट पार्र्टी माओवादीबाट डिल्लीराम नेपाली उम्मेदवार छन् ।
यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारहरू पनि छन् । ईश्वर वाग्ले, पशुपति घिमिरे, प्रेम वर्देवा, मिलन भण्डारी र यामप्रसाद दाहाल उम्मेदवार छन् ।
दलप्रतिको वितृष्णा र स्थानीय मुद्दामा आधारित राजनीतिलाई मुख्य आधार बनाउँदै स्वतन्त्र उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष सम्पर्क बढाइरहेका छन् ।
मोरङ–१ मा दलबाट १२ जना र स्वतन्त्रबाट ५ जना गरी कूल १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । धेरै उम्मेदवार हुँदा मत काटाकाटको डरमा मुख्य प्रतिष्पर्धीहरू छन् ।
यो निर्वाचन क्षेत्रमा ६० वटा मतदान स्थल रहेका छन् । कूल १ लाख २८ हजार ५४५ मतदाता यो क्षेत्रमा छन् ।
२०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी २३ हजार ३४२ मत पाएको थियो । नेपाली कांग्रेस १७ हजार १५ मतसहित दोस्रो स्थानमा रहेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ९ हजार ७७४ मत प्राप्त गरेको थियो । माओवादीले ६ हजार ४४५ मत पाएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ हजार ६७२ मत ल्याएको थियो ।
त्यस्तै एकीकृत समाजवादीले २ हजार ८७४, मंगोल नेशनल अर्गनाइजेशनले २ हजार ७७९ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ११२ मत प्राप्त गरेका थिए ।
अघिल्लो निर्वाचनका यी तथ्यांकहरूले मोरङ–१ मा दलहरूको वास्तविक शक्ति सन्तुलन देखाउने भएकाले यसपटकको चुनावमा पनि ती परिणामलाई आधार मानेर रणनीति तय गर्न दलहरू लागेका छन् ।
झिनो मतान्तर, नयाँ–पुराना दलको उपस्थिति र स्वतन्त्र उम्मेदवारको सक्रियताले मोरङ–१ को चुनावी परिणाम अन्तिम क्षणसम्म खुला रहने संकेत देखिएको छ ।
View : 221
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved