Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

लैंगिक हिंसाविरूद्ध ‘ओरेञ्ज कप क्रिकेट’

उद्‌घोष संवाददाता
२९ मंसिर २०८२, सोमवार

विराटनगर । लैंगिक हिंसाविरूद्धको १६ दिने अभियानसँग सहकार्य गर्दै कोशी प्रदेशका चारवटा क्षेत्रमा ‘ओरेञ्ज कप क्रिकेट’ प्रतियोगिता सम्पन्न भएको छ । 

नेपाल क्रिकेट फाउण्डेशनले एमसीसी फाउण्डेशन, क्रिकेट विदआउट बाउन्ड्रिज, क्रिकेट युनाइट्सको सहयोग तथा कोशी प्रदेश क्रिकेट संघ, मोरङ जिल्ला क्रिकेट संघ, सुनसरी जिल्ला क्रिकेट संघ र उदयपुर जिल्ला क्रिकेट संघसँगको सहकार्यमा प्रतियोगिता गरेको हो । 

ओरेञ्ज कपले सामाजिक रूपान्तरणसँग जोड्दै लैंगिक समानता, समावेशिता र सशक्तिकरणको सन्देश दिएको जनाइएको छ । 

विराटनगरमा आयोजित प्रतियोगितामा महेन्द्र मावि, जनपथ मावि, विराट बहिरा मावि र आदर्श माविका विद्यार्थीहरूले सहभागिता जनाएकोमा महेन्द्र मावि ओरेञ्जकप विराटनगर २०२५ को विजेता र विराट बहिरा मावि उपविजेता बनेको छ । 

मोरङकै पथरीशनिश्चरेमा आयोजित प्रतियोगितामा कीर्तिपुर एकेडेमी, आदर्श सीता विद्यालय र हिरक मावि सहभागी हुँदा कीर्तिपुर एकेडेमी विजेता बन्यो भने आदर्श सीता विद्यालय उपविजेता भएको जनाइएको छ ।

उदयपुरमा भएको खेलमा जनज्योति मावि, त्रियुगा मावि, बालमन्दिर मावि र अम्मेवर मावि राजावासका विद्यार्थीले सहभागिता जनाए । प्रतियोगितामा बालमन्दिर माविले उपाधि जित्दा अम्मेबर मावि राजाबासका अशलोक सिंह उत्कृष्ट ब्याटर घोषित भए । बालमन्दिरकी युनिशा राई उत्कृष्ट बलर घोषित भइन् । 

सुनसरीको तरहरामा भएको प्रतियोगितामा हिमशिखर मावि, सयपत्री मावि, पूर्वाञ्चल मावि र प्याराडाइज मावि  सहभागी हुँदा पूर्वाञ्चल मावि विजेता भयो । हिमशिखर भने उपविजेता भएको थियो ।

पूर्वाञ्चलका सपतजंग कार्की उत्कृष्ट बलर र पूर्वाञ्चल माविकी निरजला निरौला उत्कृष्ट बलरका रूपमा भइन् । यस्तो प्रतियोगिता गत बर्षदेखि आयोजना गर्न थालिएको नेपाल क्रिकेट फाउण्डेशनले जनाएको छ ।

View : 107

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved