विराटनगर । स्कुल तथा कलेज नजिकै खुलेका चिया पसलमा विद्यार्थीहरू प्रवेश गर्ने र हुक्का तथा चुरोटजन्य पदार्थको सेवन गर्ने गरेको गुनासो पछि विराटनगर महानगरपालिकाले बुधबारबाट अनुगमन सुरू गरेको छ । महानगरले विद्यार्थीलाई हुक्का र सुर्तीजन्य पदार्थ बिक्री गरे व्यवसायनै दर्ता खारेज गर्नेसम्मको निर्णय गरिसकेको छ ।
स्कुल कलेज छेउमा खुलेका चिया पसल, हुक्का बार र क्याफेलाई व्यवस्थित गर्दै १८ बर्ष मुनिका बालबालिकालाई त्यस्ता पदार्थको सेवनबाट निरूत्साहित गर्न अनुगमन अनुगमन सुरू गरिएको जनाइएको छ ।
धेरैजसो चिया पसल, हुक्का बार र क्याफेमा विद्यालय कलेजको पोशाकमै जाने र हुक्का र सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको गुनासो बढेपछि विराटनगर महानगरपालिकाले गत शुक्रबार सम्बन्धित व्यवसायीसहितको सहभागीतामा छलफल गरेको थियो ।
छलफलपछि पसल सञ्चालकहरूले विद्यालय पोशाक लगाएका र १८ वर्षमुनि बालबालिकालाई हुक्का र सुर्तीजन्य पदार्थ बिक्री नगर्ने सहमति गरेका थिए । त्यसको अनुगमनका लागि महानगर प्रहरीका प्रहरी निरीक्षक राजन पौडेलको संयोजकत्वमा गठित समितिले अनुगमन थालेको हो ।
हुक्का बार, चिया पसल र क्याफे अगाडि जथाभावी पार्किङ गरेका कारण आवतजावतमा समेत समस्या भएको भन्दै पार्किङलाई व्यवस्थित गर्न समेत अनुगमनका क्रममा आग्रह गरिएको हो ।
अनुगमनका क्रममा हुक्का बार, चिया पसल र क्याफेहरूमा कार्यरत कर्मचारीको परिचय अनिवार्य गर्न, धुम्रपान क्षेत्र तोक्न, १८ बर्षमुनि उमेरका जोसुकैलाई पनि हुक्का र खैनी चुरोट बिक्री नगर्न निर्देशन दिइएको महानगर प्रहरी प्रमुख पौडेलले बताए ।
साथै चुरोटजन्य र हुक्काजन्य पदार्थको बिक्री वितरणको अनुमति लिएर मात्रै व्यवसाय संचालन गर्न र पसलमा आगलागी नियन्त्रणका लागि ‘फायर किट’ को व्यवस्था गर्न निर्देशन दिइएको जानकारी दिए ।
अनुगमनमा वडा प्रहरी कार्यालय विराटनगर (क) का प्रहरी नायव उपरीक्षक बुद्ध श्रेष्ठ, महानगरपालिका कर्मचारी, नगर प्रहरीलगायत सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
View : 112
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved