विवादका बिच छानिए एमाले उम्मेदवार
नेकपा एमालेले मोरङमा टुंग्याएका उम्मेदवारहरु क्रमश (माथिबाट दायाँ) घनश्याम खतिवडा, दिलीप बगडिया, इरान राई, जीवन घिमिरे, मनोज अग्रवाल र विनोद ढकाल । तस्वीर : उद्घोष
विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी टुंग्याएको छ । तर, एकपक्षीय रुपमा टिकट वितरण गरिएको भन्दै एमालेभित्र किचलो पनि कायमै छ ।
कोशी प्रदेशकै पनि कतिपय क्षेत्रमा एमाले सचिवालय बैठकले गरेको निर्णयको मसी सुक्न नपाउँदै उम्मेदवारी फेरिएको छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध महाधिवेशनमा उम्मेदवारी दिने उपमहासचिव योगेश भट्टराईसहितका नेताहरुको टिकट खोसिएको छ ।
यसपटक एमालेको ११औं महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गरेका अधिकांश नेताको टिकट खोसिने सम्भावना भएको एमाले नेताहरूले पहिल्यै लख काटिसकेका थिए ।
ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल काठमाडौ–५ बाट चुनाव लड्दै आएका थिए । उनलाई अन्तिम समयमा दाङ–२ मा पठाइएको छ । काभ्रे–२ बाट चुनाव जितेका गोकुल बाँस्कोटा, ताप्लेजुङबाट जितेका योगेश भट्टराई, चितवन–१ बाट सुरेन्द्र पाण्डेको पनि टिकट गुमेको छ ।
महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट गोकुल सचिवमा, योगेश उपमहासचिवमा र पाण्डे महासचिवमा उठेका थिए ।
कोशी प्रदेशमा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । यी सवै क्षेत्रमा एमालेले उम्मेदवार टुंग्याएको हो ।
मोरङको क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा, २ मा दिलीप बगडिया, ३ मा इरान राई र ४ मा जीवन घिमिरेको नाम टुंगो लागेको छ । मोरङ ५ बाट मनोज अग्रवाल र ६ मा विनोद ढकालले टिकट पाएका छन् ।
३ मा दिलिप राईलाई दिइएको थियो तर उनले चुनाव लड्न अनिच्छुक देखिएपछि इरानलाई टिकट दिइएको हो । मोरङ ५ मा अग्रवाल र ६ मा उम्मेदवार बनाइएका ढकाललाई पनि आइतबार साँझमात्रै टिकट दिइएको थियो ।
५ क्षेत्र रहेको झापाको १ मा रामचन्द्र उप्रेती, २ मा देवराज घिमिरे, ४ मा मनोज ताम्ली र ५ मा एमाले अध्यक्ष स्वयंम केपी शर्मा ओली उम्मेदवार बन्ने निश्चित भएको छ ।
झापा–३ मा पनि एमालेले कुनै उम्मेदवार तोकेको छैन । उक्त क्षेत्रलाई एमालेले राप्रपासँगको तालमेलका लागि खाली राखेको एमाले स्रोतको भनाइ छ । यसअघि अध्यक्ष ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुई पटक सहयोग गर्दै झापा–५ मा राप्रपाबाट आफूले सहयोग लिएका थिए ।
झापा–४ बाट टिकट पाएका मनोज ताम्लीको टिकट फेरि एलपी साँवालाई नै दिइएको छ । यसअघि २०७४ र २०७९ मा दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित सांवालाई शनिबारको बैठकले टिकट नदिने निर्णय गरेको थियो । एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्न इच्छुक एलपी साँवालाई अध्यक्ष ओलीले आफ्नो टिममा समेटेका थिएनन् ।
सुनसरीको क्षेत्र नम्बर १ मा टिकाराम माङग्लेन लिम्बु, २ मा रेवतीरमण भण्डारी, ३ मा भगवती चौधरीको नाम टुंगिएको छ । सुनसरी–४ मा जगदीश प्रसाद कुसियैत उम्मेदवार बन्ने निश्चित भएको हो ।
सुनसरीमा १ मा सुरुमा सूर्य पन्दाकलाई उम्मेदवार बनाइएको थियो । तर उनको नाम हटाएर लिम्बुलाई टिकट दिइएको हो । २ मा भण्डारीलाई आइतबार बेलुका मात्रै टिकट दिने टुंगो लागेको जनाइएको छ ।
एमालेले पाँचथरमा आइन्द्रसुन्दर नेम्वाङ, इलाम–१ मा काजीमान कागते र २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ ।
संखुवासभामा डा. अर्जुन कार्की, धनकुटामा राजेन्द्र राई, भोजपुरमा शेरधन राई उम्मेदवार बनेका छन् ।
सोलुखुम्बुमा कल्पना राई, ओखलढुंगामा अस्मिता थापा, उदयपुर १ मा दुर्गाकुमार थापा ‘स्वस्ती’ र २ मा अमर रायामाझीको नाम उम्मेदवारका लागि टुंगो लागेको छ । खोटाङमा देवविक्रम राई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइएका छन् ।
तेह्रथुममा भानुभक्त ढकाल उम्मेदवार बनेका छन् । अघिल्लो चुनावमा मोरङ–३ मा कांग्रेसका डा. सुनिल शर्मास“ग पराजित ढकाल यसपटक सुरक्षित क्षेत्र खोज्दै तेह्रथुमतिर लागेका हुन् । तर, तेह्रथुमबाट २०७९ मा कांग्रेसकी सीता गुरुङले जितेकी थिइन् ।
उपमहासचिव योगेश भट्टराईले उम्मेदवार चयनप्रति आपत्ति जनाउँदै ‘नोट अफ डिसेन्ट’ नै लेखेका छन् । ताप्लेजुङमा योगेशको साटो युवा संघका अध्यक्ष समेत रहेका क्षितिज थेबे एमालेबाट उम्मेदवार बनेका छन् ।
View : 252
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved