Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

उर्लाबारी आगलागी घटना : थप दुई घाइतेको उपचारकै क्रममा मृत्यु

उद्‌घोष सम्वाददाता
८ मंसिर २०८०, शुक्रवार

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–७ इटहरा रोडस्थित बरगाछीमा रहेको दीपक कार्कीको घरमा उनैले संचालन गरेको स्नेहा ज्वेलर्समा भएको आगलागी नियन्क्रणका त्रममा घाइते भएका स्थानीयहरु मध्ये थप दुईजनाको मृत्यु भएको छ ।

गत २६ कात्तिक गते राती साढे १० बजे भएको आगलागी नियन्क्रण गर्ने त्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा इलाका प्रहरी कार्यालय उर्लाबारीका चार प्रहरी र २४ जना स्थानीयसहित २८ जना घाइते भएका थिए । घाइते भएका स्थानीयहरु मध्ये थप दुईजनाको उपचारकै क्रममा बर्न हस्पिटल किर्तिपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । 

मृत्यु हुनेमा उर्लाबारी नगरपालिका–७ का ४९ वर्षीय हेमकुमार दाहाल (दीपक) र ४२ वर्षीय कुमार तामाङ रहेका छन् । दाहालको बुधबार राति साढे १० बजेतिर निधन भएको जनाइएको छ । उनको अनुहार, घाँटी, हात खुट्टा लगायत शरिरको ५६ प्रतिशत भाग जलेको बर्न हस्पिटलले जनाएको छ ।

त्यसैगरी तामाङको बिहीबार विहान साढे ६ बजे सघन उपचार कक्षमा उपचारकै क्रममा निधन भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । उनको शरिरको ६५ प्रतिशत भाग जलेको जनाइएको छ । मृत्यु भएका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी–७ का वडा सभापति समेत रहेको जनाइएको छ ।

उक्त आगलागी घटनामा गम्भीर घाइते भएका उर्लाबारी–७ बस्दै आएका भारतीय नागरिक ४३ वर्षीय तपन पण्डितको मंगलबार नै निधन भएको थियो । उनको शव पोष्टमार्टम गरी भारत लगिएको जनाइएको छ । घाइतेहरु मध्ये अझै ६ जनाको बर्न हस्पिटलको आइसीयूमा राखेर उपचार भइरहेको छ । बाँकी घाइतेहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पनि जनाइएको छ ।

उपचार माग गर्दै चक्काजाम

यसैबीच आगलागीमा घाइते भएका सवैको सुविधा सम्पन्न हस्पिटलमा उपचार गर्न र उनीहरुको जीवन रक्षाको माग गर्दै स्थानीयले उर्लाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार केहीबेर चक्काजाम समेत गरेका छन् । 
उनीहरुले नेताहरुलाई रातारात सुविधा सम्पन्न अस्पतालहरुमा पुर्‍याएर उपचार गर्ने सरकारले जनताको उपचार गर्न भने कन्जुस्याँई गरेको आरोप लगाएका हुन् ।
स्थानीयले घाइतेहरु सवैको उचित स्वास्थोपचार गर्न सरकारसँग माग गर्दै करीव १० मिनेटजति सडक चक्काजाम गरेका जनाइएको छ ।
 

View : 188

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved