Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

संसारीमाईको धुमधाम पूजा

उद्‌घोष संवाददाता
२७ वैशाख २०८३, आइतवार

विराटनगर । विराटनगरको तीनपैनीमा परम्परागत संसारीमाई पूजा सम्पन्न भएको छ । तीनपैनीको पूर्वटोलमा ७५ बर्ष  भन्दा बढी समयबाट सो पूजा हुँदै आएको बताइएको छ । 

सदियौंदेखि चली आएको मान्यताको निरन्तरतास्वरूप तीनपैनीको पूर्वटोलमा रहेको सय वर्षभन्दा पुरानो साहुरको रूख मुनि संसारीमाईको पूजाआजा गरिदै आएको हो ।

सो पूजाको अवसरमा धार्मिक अनुष्ठानहरूका साथै संसारी मातालाई बली प्रदान गर्दै पूजा सम्पन्न भएको हो । 

तत्कालिन समयमा गाउँटोलको रूपमा रहेको सो क्षेत्रका बासिन्दालाई रोगब्याधी नलागोस् तथा अन्नबालीको राम्रो उब्जनी होस् भन्ने उद्देश्यसहित तत्कालिन जिम्दार कालीप्रसाद ढकालले साहुरको रूखमुनि पूजाको चलन चलाएको बताइन्छ । 

संसारीमाईको पूजा वैदिक तथा धन्वन्तरी दुई विधिबाट गर्ने चलन छ । पूजाको यथार्थ शुरूआति वर्ष प्रमाणित नभएपनि विक्रम सम्बत २००८ सालदेखि भने सो ठाउँमा विधिवत थान पूजा शुरू भएको संसारीमाई स्थान समितिको अध्यक्ष गोबिन्दप्रसाद पौडेलले जानकारी दिए । 

पछिल्लो केही वर्षयता सो ठाउँमा घेराबेरा गरी ब्यवस्थित थानको निर्माण गरिएको छ भने स्थानीय सम्मिलित समिति समेत गठन गरिएको छ । 

पूजाका दिन संसारीमातालाई बोका पाठी, हाँस, परेवा र कुखुराको बली प्रदान गरी बिशेष आराधना गरिन्छ । 

बलीपछि संसारीमाईको विशेष आराधना गरी बलिको प्रसाद मन्दिर प्राङ्गणमै पकाएर श्रद्धालुहरूलाई वितरण गरिन्छ । मान्यताअनुसार बलिको प्रसाद घर लैजान नहुने धार्मिक परम्परा कायम रहेको छ । 

प्रत्येक वर्ष वैशाख महिनाको अन्तिम शनिवार विशेष विधि विधानका साथ मनाइने सो पूजामा यस वर्ष पनि स्थानीयको उल्लेखनीय सहभागिता देखिएको थियो ।

View : 60

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved