Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

‘रेडपाण्डा’ संरक्षणका लागि ताप्लेजुङमा अन्तर्राष्ट्रिय म्याराथन हुँदै

उद्घोष सम्वाददाता
१२ भदौ २०८१, बुधवार

ताप्लेजुङ । रेडपाण्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । हिमाली संरक्षण मञ्चको संयोजनमा आगामी असोज ५ गते रेडपाण्डा दिवसका अवसरमा आयोजना हुने सो प्रतियोगिताका सहभागीले ४८ किलोमिटर दूरी पूरा गर्नुपर्नेछ ।

म्याराथनले रेडपाण्डा संरक्षणमा विशेष योगदान पुर्याउने अपेक्षा गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । म्याराथनको मार्ग पाथीभरा क्षेत्रमा तय गरिएको छ । यो रेडपाण्डाको मुख्य बासस्थान हो ।

फुङ्लिङ बजारबाट तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित पाथीभरा पूजाधामसम्मको २४ किलोमिटर उकालो र त्यहाँबाट पुनः फुङ्लिङ बजारसम्म २४ किलोमिटर ओर्लेर ४८ किमीको दूरी पूरा हुनेछ ।

म्याराथनको तयारी सुरु भइसकेको जानकारी दिँदै संयोजक राईले यस कार्यक्रमले ताप्लेजुङलाई पर्यटकीय र जैविक विविधतामा टेवा पुर्याउने अपेक्षा गरिएको छ । उक्त प्रतियोगिता रेडपाण्डा नेटवर्क र फुङ्लिङ नगरपालिकाको सहयोग रहने जनाइएको छ ।

हरेक वर्ष सेप्टेम्बर २१ मा रेडपाण्डा संरक्षण दिवस मनाइन्छ र यस वर्षको विशेष कार्यक्रमका रूपमा म्याराथनलाई समावेश गरिएको छ । म्याराथनले रेडपाण्डा संरक्षणको महत्त्वबारे स्थानीय समुदायलाई थप जनचेतना गर्ने लक्ष्य राखेको छ ।

मञ्चका फिल्ड संयोजक सुष्मा डाँगीका अनुसार म्याराथनको विजेताले एक लाख प्राप्त गर्नेछन् भने पुरुषतर्फका प्रथम, दोस्रो र तेस्रो विजेताले क्रमशः ५० हजार, ३० हजार र २० हजार प्राप्त गर्नेछन् ।

महिलातर्फका विजेतालाई पनि त्रमशः रु ५०, ३० र २० हजार पुरस्कार प्रदान गरिनेछ । साथै, विशेष रेडपाण्डा पाइने ताप्लेजुङ, पाँथर र इलामबाट सहभागी हुने धावकका लागि अतिरिक्त पुरस्कारको व्यवस्था गरिएको छ ।

पहिलो, दोस्रो र तेस्रो स्थानमा आउने धावकले क्रमशः रु १५, १० र पाँच हजार प्राप्त गर्नेछन् । विदेशी धावकका लागि एक सय डलर दर्ता शुल्क राखिएको छभने नेपाली धावकका लागि रु तीन हजार शुल्क निर्धारण गरिएको छ ।

ताप्लेजुङ, पाँचथर र इलामबाट सहभागी हुने धावकका लागि दर्ता शुल्क एक हजार राखिएको छ ।

म्याराथन कार्यक्रमलाई सफल बनाउन रेडपाण्डा नेटवर्कले यस वर्ष रु १० लाख सहयोग गर्ने छभने फुङ्लिङ नगरपालिकाले रु पाँच लाख छुट्याएको छ ।

आयोजकका अनुसार यो म्याराथनले ताप्लेजुङलाई विश्वव्यापी संरक्षण र पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्याउनेमा विश्वास रहेको ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले बताए ।

रेडपाण्डाको प्राकृतिक बासस्थान संरक्षणको महत्त्वबारे स्थानीयलाई शिक्षित गर्न यो अभियानकै रूपमा म्याराथन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

View : 148

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved