विराटनगर : आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयकमार्फत ल्याएको चालु आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभामा खर्च कटौतिसम्बन्धि आठवटा प्रस्ताव दर्ता भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ६ जना सांसद र राप्रपाका दुई जनाले प्रतिस्थापन विधेयक कमोजिमको विनियोजनमा खर्च कटौतीको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेकको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
खर्च कटौतीको प्रस्ताव दर्ता गर्ने सांसदहरुमा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहित सांसदहरु विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन पाठक, कमला दर्नाल र निरन राई छन् । त्यसैगरी राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र गोपालबहादुर विश्वकर्माले समेत खर्च कटौती प्रस्ताव दर्ता गरेका हुन् ।
उनीहरुले विभिन्न बजेट शीर्षकमा एक रुपैयाँदेखि ४ करोड रुपैयाँसम्म कटौती गर्न माग गरेका छन् । बजेटको आकार बढ्दा पनि मुख्यमन्त्री कार्कीले नियतवश बजेट कटौती गरेको भन्दै खर्च कटौतीको प्रस्ताव दर्ता भएका हुन् । एमालेका प्रमुख सचेतक भण्डारीसहित लिङ्थेप, दुलाल र पाठकले १ रुपैयाँ, सचेतक कमला दर्नालले २ रुपैयाँ खर्च कटौतीको माग गरेका छन् ।
राप्रपाका सिटौलाले मुख्यमन्त्री जनता कार्यक्रमका लागि छुट्याइएको बजेटबाट ११ लाख र राप्रपाकै विश्वकर्माले इलामको अन्तुमा निर्माण हुने चेन्जिङ रुमसहितको शौचालयका लागि छुट्याएको ४ करोड रुपैयाँ खर्च कटौती गर्नुपर्ने प्रस्ताव सचिवालयमा दर्ता गरेका हुन् ।
मंगलबारको प्रदेश सभामा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथिको छलफल सकिएर मुख्यमन्त्री कार्कीले जवाफ समेत दिइसकेका छन् ।
तर कार्कीलाई मुख्यमन्त्री बनाउन सनाखत गर्नेदेखि विश्वासको मत समेत दिएर साथ दिएको एमालेले नै विनियोजनप्रति असन्तुष्टि जनाउँदै आएको छ । विनियोजनमाथिको छलफलमा बोल्ने एमालेका सांसदहरुले मुख्यमन्त्री कार्कीलाई काँधमा बोकेर हिंडेपनि अब ओराल्नु पर्ने अवस्था आएको बताएका थिए ।
बुधबारको बैठकमा उक्त प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची छ । त्यसका लागि बैठक अपरान्ह १ बजे बोलाइएको छ ।
अर्थमन्त्रीको हैसियतमा मुख्यमन्त्री कार्कीले चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट विनियोजन गरेको घोषणा गरेका थिए । जुन बजेट हिक्मतकुमार कार्की नेतृत्वको अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटको आकारभन्दा ५० करोड बढी हो ।
View : 157
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved