Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

आजदेखि तीन दिन भारी वर्षाको अनुमान

उद्‌घोष संवाददाता
१० असोज २०८१, बिहिवार

विराटनगर । एक साताभन्दा लामो प्रचण्ड गर्मीपछि कोशी प्रदेशको तराई क्षेत्र केही शितल बनेको छ । मंगलबार बिहानैदेखि मोरङ, सुनसरी, झापा तथा उदयपुरमा भएको वर्षाले साताभन्दा लामो गर्मीबाट सर्वसाधारणले राहत महसुस गरेका छन् । यो क्रम अझै लम्बिने मात्रै भएको छैन, असोज १३ गते आइतबारसम्म कोशी प्रदेशसहित देशका विभिन्न भागमा भारी वर्षा हुने प्रक्षेपण सार्वजनिक भएको छ ।

जल तथा मौसम विज्ञान विभागले बुधबार विशेष बुलेटिन जारी गर्दै बिहीबारदेखि आइतबारसम्म कोशी प्रदेशका ११ जिल्लासहित  मुलुकका ५६ जिल्लामा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागका अनुसार बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपालतिर  सोझिएको र त्यसले  भारी वर्षा गराउने  प्रक्षेपण गरिएको हो ।

कोशी प्रदेशका तीन हिमाली जिल्लाहरु ताप्लेजुङ, संखुवासभा र ओखलढुंगाबाहेकका अरु सबै ११ जिल्ला सम्भावित वर्षाका कारण उच्च जोखिममा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । 

‘बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण २०८१ असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ गते आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ’, जल तथा मौसम विज्ञान महाशाखाले बुधबार जारी गरेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।

यस प्रणालीको प्रभावले विशेष गरी वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको बताएको छ ।

View : 428

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved