भोजपुर : जिल्लाको अरुण गाउँपालिका–५ याकु स्थित चिरञ्जीवी खड्काको घरमा शनिबार विहान आगलागी हुँदा नौ लाख बराबरको क्षति भएको छ ।
दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन विदाइ टीकाको क्रममा बालेको दियोबाट खरको छानामा आगो सल्किएर आगलागी भएको हो ।
आगलागी हुँदा घरमा रहेको नगद २ लाख ३० हजार, तीन तोला सुन, ४५ मुरी धान, छ कोठा थाङ्ग्राको मकै, जिन्सी सामान, खाद्यान्न, लत्ताकपडा लगायत जल्दा करिब ९ लाख बराबरको क्षति भएको प्रहरी चौकी याकुले जानकारी दिएको छ ।
सो आगलागी स्थानीय र प्रहरीको सहयोगमा २ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिए ।
पीडितलाई नेपाल रेडक्रस सोसाइटी, गाउँपालिका र वडाले तत्कालका लागी खाद्यान्न, लत्ताकपडा तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको अरुण गाउँपालिकाकी उपाध्यक्ष विनिता ढकालले बताइन् ।
View : 221
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved