Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

उद्घोष सम्वाददाता
१६ असोज २०८१, बुधवार

काठमाडौँ, १६ असोज । केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रुपमा आइसकेको छैनभने टेलिफोन सेवा प्रदायक दुई कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी) र एनसेल आजिअटा लिमिटेड (एनसेल) को मात्र करिब  २२ करोड बराबरको क्षतिको अनुमान गरिएको छ ।

“एनटिसीको करिब  १५ करोड र एनसेलको करिब  सात करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । त्यस्तै, हालसम्म १५ इन्टरनेट सेवा प्रदायकहरुबाट विवरण सङ्कलन भइसकेकामा यस्ता कम्पनीहरुको करिब  साढे सात करोड बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क छ”, प्राधिकरणका सहायक प्रवक्ता डा प्रदीप पौड्यालले रासससँग भने ।

इन्टरनेट सेवा प्रदायकहरुबाट थप क्षतिको विवरण सङ्कलन भइरहेको पनि उनले बताए । बाढीपहिरो, डुबान, चट्ङ्याङलगायत समस्याबाट विद्युत् आपूर्ति अवरोध भएका कारण मुलुकको धेरै स्थानमा टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको थियो ।

विद्युत् आपूर्ति सहज भएसँगै क्रमशः दूरसञ्चार सेवा पनि पुनः सञ्चालनमा आएको डा पौड्यालको भनाइ छ । पोल ढल्ने, तार चुँडिनेलगायत समस्या देखिएका ठाउँमा द्रुत टोली खटाएर सेवा सुरु गर्न कम्पनीहरुलाई निर्देशन दिइसकेको पनि उनले जानकारी दिए ।

टेलिफोन र इन्टरनेट अत्यावश्यक वस्तु भएकाले यस्तो सेवा अवरोध नहोस् भन्नका लागि प्राधिकरण चनाखो रहेको पनि उनले बताए ।  रासस

View : 115

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved