Biratnagar, Morang, Nepal
६ चैत २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता मोरङको विजयी सुरुवात

उद्‌घोष संवाददाता
५ चैत २०८२, बिहिवार

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा पहिलो पटक सुरु भएको ‘अनिल–मीन’ क्रिकेट ट्रफीको पहिलो खेलबाट मोरङले जीतको सुरुवात गरेको छ ।

विराटनगरको मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मोरङले सुनसरीलाई ५५ रनले पराजित गर्दै ३ खेलको सिरिजका लागि पहिलो जित दर्ता गरेको हो ।

टस जितिर ब्याटिङमा उत्रिएको मोरङले निर्धारित ५० ओभरको खेलमा २७ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय १४ रनमा अलआउट भयो । मोरङका ८ औं नम्बरमा ब्याटिङ गर्न आएका प्रतिक पोखरेलले सर्वाधिक ३२ रन बनाउँदा सुवास रायले टोलीका लागि १३ रनको योगदान दिए । 

पोखरेल ब्याटिङ गर्न आउँदा मोरङ ४३ रनमा ६ विकेट गुमाई खुम्चिइरहेको थियो । पोखरेलले ३२ रनको ठोस इनिङ खेल्दै पारीलाई अघि धकेलेका थिए । 

सुनसरीका कविराज खत्रीले किफायती बलिङ गर्दै ९ दशमलव ३ बलमा ५ मेडन राख्दै २१ रन खर्चिएर ५ विकेट लिए । त्यस्तै कृष्ण विष्ट र रविन मण्डलले समान १–१ विकेट लिन सफल भए ।

११५ रनको लक्ष्य पाएको सुनसरी आफ्नो पारीमा सम्हालिन नसक्दा १९ दशमलव ४ बलमा ५५ रनमा  अलआउट बन्यो । सुनसरीका रोशन खत्रीले १७ रन बनाए । त्यस्तै अफन ताहिरले ११ रनको योगदान दिए । 

मोरङका कृष शर्माले ७ दशमलव ४ बलमा २ मेडन राख्दै १७ रन दिएर ५ विकेट लिए । कृतिक कामतले २ ओभरमा २ रन दिएर ४ विकेट लिए । त्यस्तै प्रतिक पोखरेलले पनि १ विकेटका साथ दुई महत्वपूर्ण क्याच लिएर प्लेयर अफ द म्याच घोषित बने । 

तीन श्रृंखलाको खेलमा मोरङ र सुनसरीका टीम सहभागी छन् । 

कोशी प्रदेशको क्रिकेट विकासका कोशी प्रदेश क्रिकेट संघ र मोरङ जिल्ला क्रिकेट संघसँगको सहकार्यमा यो प्रतियोगिता सञ्चालन गरिएको नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए । उनले मोरङका पूर्व क्रिकेटर अनिल श्रेष्ठ र सुनसरीका मीन दाहालको सम्मानका लागि यो प्रतियोगिता आयोजना गरिएको बताए । 

शनिबार तेस्रो तथा अन्तिम खेलबाट आउने ‘वेष्ट अफ थ्री’ को नजिता अनुसार विजेता घोषित गरिने उनले बताए ।

View : 20

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved