Biratnagar, Morang, Nepal
२६ असार २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी अस्पतालद्वारा रक्तसञ्चार सेवा हटाउने निर्देशनप्रति रेडक्रसको आपत्ति

उद्‌घोष संवाददाता
२६ असार २०८३, शुक्रवार

Advertisement

विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले कोशी अस्पताल परिसरबाट प्रादेशिक रक्तसञ्चार सेवा हटाउन दिइएको निर्देशनप्रति गम्भीर असन्तुष्टि जनाउँदै निर्णय तत्काल पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । 

बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै शाखाले रक्तसञ्चार सेवा कुनै संस्थाको मात्र नभई नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक स्वास्थ्य सेवा भएकाले यसको सञ्चालनमा अवरोध आउन नहुने जनाएको हो । 

शाखाका अध्यक्ष सुकदेव मण्डलले प्रादेशिक रक्तसञ्चार सेवाबाट दैनिक एक सयभन्दा बढी बिरामीले सुरक्षित र गुणस्तरीय रगत प्राप्त गर्दै आएको जानकारी दिए । सेवा विस्थापित भए आकस्मिक शल्यक्रिया, दुर्घटना, सुत्केरी, क्यान्सर तथा अन्य गम्भीर अवस्थाका बिरामीको उपचारमा प्रत्यक्ष असर पर्ने उनले बताए । 

उनले रक्तसञ्चार सेवा मानवताको सबैभन्दा संवेदनशील सेवामध्ये एक भएकाले यसलाई हटाउनेभन्दा अझ व्यवस्थित र सुदृढ बनाउनेतर्फ सबै पक्ष लाग्नुपर्ने बताए । दीर्घकालीन समाधानका लागि सरकार, स्थानीय तह तथा स्वास्थ्य निकायले आवश्यक जग्गा उपलब्ध गराई रक्तसञ्चार सेवाको आफ्नै भवन निर्माणमा सहयोग गर्नुपर्ने उनको माग छ ।

मोरङ शाखाले जारी गरेको विज्ञप्तिअनुसार कोशी अस्पतालले  दोस्रो पटक असार २२ गते सूचना जारी गरि १५ दिनभित्र सेवा सञ्चालन भइरहेको स्थान खाली गर्न निर्देशन दिएको छ । 

रेडक्रसले सो निर्णयले प्रदेशकै प्रमुख रक्तसञ्चार सेवाको निरन्तरतामाथि नै प्रश्न उठाएको जनाएको छ ।

रेडक्रसका अनुसार वि.सं. २०३८ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय मातृकाप्रसाद कोइरालाको पहलमा स्थापना भएको प्रादेशिक रक्तसञ्चार सेवा चार दशकभन्दा बढी समयदेखि कोशी अस्पताल परिसरबाट सञ्चालन हुदै आएको छ । यस अवधिमा लाखौं बिरामीले सेवाबाट प्रत्यक्ष लाभ लिएका छन् ।

संस्थाले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई रक्त सेवा शुल्कमा ५० प्रतिशतसम्म सहुलियत दिंदै आएको जनाएको छ । 

आगामी दिनमा पनि सेवा अविच्छिन्न रूपमा सञ्चालन गर्न आवश्यक वातावरण निर्माणका लागि सरकार, स्थानीय तह, नागरिक समाज तथा सबै सरोकारवालाको सहयोग आवश्यक रहेको शाखाको भनाइ छ ।

View : 52

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved